प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार किन पुगे ओली?

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा केहीबेर अघि भएकाे भेटमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ।

स्राेतका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि भेटवार्ता गरेका थिए।

सर्वाेच्च अदालतले यही माघ १३ गते शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेकाे नागरिकता अवैध ठहर गरेपछि गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा नेताहरूकाे दाैडधुप चलिरहेकाे छ।

यता, रास्वपाले भने सरकारमा सहभागी हुनकाे लागि आफूलाई गृहमन्त्रालय चाहिने अडान कायमै राखेकाे छ।

पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडाैँबाट नेपाली नागरिकता लिएका छन्। नागरिकता लिएसँगै पुन:रास्वपाकाे सभापतिकाे जिम्मेवारी लिएका उनी आफूलाई गृहमन्त्रालय पार्ने दाैडमा छन्।

उनले हिजाे मात्रै प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली लगायत सरकारमा सहभागी दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए। यद्यपि, ओली गृहमन्त्रालय रास्वपालाई दिने पक्षमा छन् भने प्रधानमन्त्री दाहालले सर्वाेच्चबाट फैसलाकाे पूर्णपाठ आएपछि मात्र गृहमन्त्रायकाे टुङ्गाे लगाउने बताएका छन्।

आजै, प्रधानमन्त्री दाहालसँग प्रदेश- १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले भेटवार्ता गरेका थिए। भेटमा उनीहरू बधाई आदानप्रदानका साथै प्रदेश सरकारलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको बताइएको छ।

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्