के सन्दीपले अब नेपालको प्रतिनिधित्व गर्दै खेल्न पाउँछन्?

फाइल तस्बिर।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले बलत्कार आरोपमा अहिले मुद्दा खेपिरहेका छन्। एक किशोरीले आफूलाई सन्दीपले बलात्कार गरेको भन्दै उजुरी दिएपछी तत्कालीन कप्तान लामिछाने पक्राउ परेका थिए।

उनलाई काठमाडौँ जिल्ला अदालतले पूर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाएको थियो। तर सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेपछी उनी उच्च अदालतको आदेशमा ससर्त रिहा भए।

सन्दीप रिहा भएसँगै उनले राष्ट्रिय टिमबाट खेल्ने/नखेल्ने अन्योलता रहेको थियो। यद्यपि, सन्दीपका वकिल सरोजक कृष्ण घिमिरेले सन्दीपलाई खेल्नबाट अदालतले रोक नलगाएको भन्दै उनलाई तत्काल कप्तानकै रूपमा पुनर्वहाली गर्नुपर्ने जिकिर गरेका थिए।

तर क्यानले केहीदिन अगाडि राष्ट्रिय टिमको घोषणा गर्दा सन्दीप प्रारम्भिक टिममा पर्न सकेनन्। यद्यपि, क्यान पधाधिकारी भने सन्दीपलाई राष्ट्रिय टिमबाट खेलाउन एकमत जस्तै थिए। क्यानका जनर मेनेजर वृतान्त खनालले आफूले क्यानको प्रशासनको तर्फबाट खेल्नका लागि कुनै असहज नहुने सुझाव दिएको बताउँछन्ऽ उनले भने,’मेरो तर्फबाट मैले सन्दीपले खेल्दा कुनै समस्या नहुने सुझाव टिम म्यानेजरलाई दिएको हो। बाँकी उहाँहरूको कुरा हो।’ तर क्यानले सन्दीपलाई खेलाउने मनसाय राखेपनि सन्दीप क्यानको निलम्बनमा रहेका कारण उनलाई क्लोज क्याम्पमा बोलाउने सम्भावना थिएन।

तर क्यानको बोर्ड बैठकले मंगलबार सन्दीपको निलम्बन फुकुवा गरेसँगै अब उनको राष्ट्रिय टिममा पुनरागमनको सम्भावना ‘पक्का’ जस्तै भएको छ। क्यान स्रोत भन्छ,’बोर्ड बैठकबाट उनको निलम्बन फुकुवा गर्नु भनेको सन्दीपलाई विश्वकप छनोट लिग-२ को खेलका लागि बोलाउनुनै हो। अदालतले क्रिकेट खेल्नका लागि कुनै रोक नलगाएकाले आरोपित भएकै कारण उनको करिअर डयामेज गर्ने काम त संघले गर्नु भएन नि।’ साथै क्यान पछिल्लो समय गुम्न लागेको एकदिवसीय वरियतालाई जोगाउनका लागि भएपनि सन्दीपलाई घरेलु सिरिजमा खेलाउन चाहिरहेको छ।

विश्वकप लिग-२ मा लगातार खराब प्रदर्शनका कारण नेपालको एकदिवसीय वरियता संकटग्रस्त अवस्थामा पुगेको छ। अब घरेलु सिरिजमा कुनैपनि हालतमा जित निकाल्नु पर्ने चुनौती नेपाललाई रहेको छ। त्यसैले आफ्ना स्टार खेलाडीलाई मैदानमा उतार्नुपर्ने चुनौती क्यानसँग रहेको छ।

सर्वोच्चको मुद्दाले फरक पार्छ?
मंगलबार मात्रै महान्यायाधिवक्ताको कार्यलयले सन्दीपलाई थुनामानै राख्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको छ। यदि सर्वोच्चले सन्दीपको मद्दामा सुनुवाई गर्दै उनलाई पुन: जेल पठाएमा भने सन्दीप स्वत: निलम्बनमा पर्ने छन्। तर उच्च अदालत पाटनको आदेशलाई सदर गरेमा भने सन्दीप मुद्दाको अन्तिम किनारा नलाग्दा सम्म देशभित्र हुने प्रतियोगिताहरूमा सहभागिता जनाउँन पाउनेछन्।

तर उनले प्रहरीलाई भने जानकारी गराउनु पर्नेछ। उनलाई पाटन उच्च अदालतले अन्तिम फैसला नहुँदासम्म देशबाहिर जान भने रोक लगाएको छ।

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्