बुटवलमा उपमहानगरको राष्ट्रिय सम्मेलन हुने

बुटवल – बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। बुटवलमा बुधबार पत्रकार सम्मेलन गरी आयोजक बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको जानकारी गराएको हो।

पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएकाहरुका बीचमा अनुभव आदानप्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उद्देश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताए।

‘यही मिति २०७९ माघ २१ र २२ गते हुने सम्मेलनमा देशभरका उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहने छ’,उनले भने, ‘जसमा उपमहानगरपालिकाहरुका साझा समस्या, संविधानअनुसार साझा र एकल अधिकारको प्रयोगका चुनौती, असल अभ्यासबारे अनुभव आदानप्रदान, संघ र प्रदेश सरकारसँग स्थानीय सरकारका रुपमा अपेक्षा र स्थानीय आवश्यकताजस्ता विषयमा छलफलसहित निष्कर्ष निकालिनेछ।’

उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करीब ५ सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने उनले बताए। उनले सम्मेलनको उद्घाटन समारोह बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा र अन्य सत्रहरु बुटवल उपमहानगरको सभाहलमा हुने बताए।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उपमहानगरहरुका बीचमा आपसी समन्वय र सहकार्यको उदेश्यका साथ सम्मेलन हुने र यसले देशलाई नै लाभ हुने बताइन्। उनले स्थानीय सरकारहरु साझा मुद्दा लिएर एकसाथ अघि बढ्ने बताइन्।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले राष्ट्रिय सम्मेलनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको बताए। उनले सम्मेलनमा सहभागी हुने उपमहानगरपालिका र अन्य प्रतिनिधिहरुलाई पत्राचार गरिसकिएको र आन्तरिक व्यवस्थापनको काम जारी रहेको बताए।

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्