ल्वासुर देवताको धामी बढी वर्षसम्म बाँच्ने विश्वास !

सिमकोट – जिल्लामा विभिन्न किसिमका देवताका धामी हुने गरे पनि ल्वासुर देवताका धामी बढी वर्षसम्म बाँच्ने विश्वास गरिँदै आएको छ।
हालसम्म उक्त देवताका धामी ६ पुस्ता भएको र सबै धामी ९० वर्षबन्दी बढी उमेरसम्म बाँच्न सफल भएका छन्।
खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुुर रावलले ल्वासुर देवताको धामी ९० वर्षभन्दा बढी वर्ष बाँच्दै आएको बताए। हालका उक्त देउताका धामी नन्दबहादुुर हमाल ९२ वर्ष पुगेका छन्।

उनी देवता आएका बेला उफ्रीउफ्री नाच्ने गर्छन्। हमालभन्दा अघिका धामी बिसु उपाध्याय पनि ९० वर्षभन्दा बढी समय बाँच्न सफल भएका थिए। उक्त देवता सोही गाउँपालिका– ४ को छिप्रा गाउँमा मान्ने गरिन्छ।

उनले गाउँवासीले उक्त देवता मान्ने गरेको ६ पुस्ता भएको र सबै धामी ९० वर्षभन्दा बढी वर्ष बाँच्न सफल भएको बताए। रोग, ब्याधीसमेत ती धामीमा नलागेरै अपर्झट मृत्युु भएको भन्दै उनले ल्वासुुर देउताको धामीमा बढी उमेरसम्म बाँच्ने गुण भएको विश्वास जिल्लावासीले गर्दै आएको बताए। उक्त देउताका दुुई हजारभन्दा बढी सिग्या ( खसी, बोका, घाडा, चौरी चढाउने मानिस) छन्। जो हुम्ला जिल्लावासीका साथै दार्चुला, बझाङ, ब्यास, बाजुरा, जुम्ला, मुगु जिल्लाका समेत छन्।

उक्त देवताको धामीको अर्को विशेषता भनेको भूत, प्रेत लागेको बिराम र शरीरमा भएको बिराम पत्ता लगाउने गुण भएको विश्वास स्थानीयमा छ । सो देवताको धामीमा देवता आएका बेला भूतप्रेत लागेको बिरामीलाई आफैँ सन्चो पार्ने र शरीरमा बिराम लागेको बिरामीलाई थप उपचारका लागि स्वास्थ्य संस्था जान सुुझाव दिने गर्दै आएका छन्।

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्