बाँकेमा कोरोनाविरुद्धको बुष्टर डोज लगाउने तयारी

नेपालगञ्ज – स्वास्थ्य कार्यालय, बाँकेले कोभिड–१९ विरुद्धको दोस्रो बुष्टर डोज लगाउने तयारी गरेको छ।
कार्यालयका निमित्त प्रमुख एवं खोप सुपरभाइजर नरेश श्रेष्ठले ५५ वर्षमाथि व्यक्ति, १२ वर्षमाथिका दीर्घरोगी, गर्भवती महिला र स्वास्थ्यकर्मीलाई पहिलो चरणमा दोस्रो बुष्टर डोज लगाउने तयारी गरेको जानकारी दिए।
५५ वर्षमाथिका व्यक्तिको हकमा पहिलो बुष्टर डोज लगाएको ६ महिना पुगेको हुनुपर्छ। स्वास्थ्य कार्यालयले जिल्लाका आठ वटै पालिकासँग उल्लेखित समूहको वडावाइज नामावली पठाइदिन अनुरोध गरेको छ।
कोरोनाविरुद्धमा पहिलो र दोस्रो खोप लगाएपछि बुष्टर डोज लगाइएको थियो। सरकारले अब बुष्टरको पनि दोस्रो मात्रा लगाउने तयारी गरेको छ। बाँकेमा पहिलो चरणमा तीन लक्षित समूहलाई खोप लगाइँदै छ।