साना उद्यमीलाई इ कमर्समा अभिप्रेरित गर्न प्रदेश १ सरकारले सहयोग गर्ने

मोरङ – विद्युतीय अर्थतन्त्रको विस्तारले ठूला उद्योग र उत्पादनले बजार प्रवद्र्धनको अवसर पाउने प्रदेश १ का उद्योग, कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले बताएका छन्।
विराटनगरमा बुधबार आयोजित विद्युतीय सचेतीकरण कार्यशालाको उद्घाटन गर्दै मन्त्री सिटौलाले सरकारले साना उद्यमीलाई इ कमर्शमा अभिप्रेरित गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रस्ट्याए।
विद्युतीय माध्यमबाट हुने वित्तीय कारोबारको विकासले परम्परागत कारोबारसमेत ओझेलमा पर्दै गएको बताएका मन्त्री सिटौलाले सरकारले उद्यममैत्री वातावरण बनाउँदै साना उद्योग र उत्पादनलाई हौसला प्रदान गर्ने बताए।
कार्यक्रममा मन्त्री सिटौलाले साना ब्यवसायीले पनि इ कमर्सलाई अनुसरण गर्दै अघि बढ्दा अर्थतन्त्रको दिगो विकासमा सहयोग पुग्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ द्वाारा आयोजित कार्यशालामा महासंघ प्रदेश १ का अध्यक्ष टीकाराज ढकालले पछिल्लो समय उद्योगी ब्यवसायीले आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको हुँदा सरकारले व्यवसायीलाई संरक्षण गर्दै व्यावसायिक वातावरण बनाउनुपर्ने बताए।
विद्युतीय अर्थतन्त्रको प्रयोग र विस्तारले उद्योगी व्यवसायीलाई पुनः ब्यवसायमा फर्काउनका लागि सहयोग मिल्ने अध्यक्ष ढकालको भनाइ छ।
इन्टरनेट, मोबाइलबाट समेत आफ्नो उत्पादनलाई बजारमा प्रवद्र्धन गर्न सकिने अध्यक्ष ढकालले बताए।
त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा साना उद्यम समितिका सभापति डिबी बस्नेतले कार्यशालाको सीप र ज्ञानले साना उद्योगका उत्पादनलाई सहज रुपमा बजारमा पुग्ने बाटो तयार हुने धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा संयुक्त राष्ट्रसंघ पुँजी विकास कोषका कन्ट्री रिलेशनसीप म्यानेजर सरोज नेपाल, स्विस सरकार विकास सहयोगकी सुब्रिना श्रेष्ठ, उद्योग बाणिज्य महासंघ प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारीले साना उद्यमीको क्षमता विकासको लागि डिजिटल प्लेटफर्मको प्रयोगबाट इ कमर्शको प्रवद्र्धन गर्न सचेतीकरण कार्यक्रमले सकारात्मक भूमिका खेल्दै आएको बताएका थिए।
कार्यक्रममा प्रदेश १ का विभिन्न जिल्लाका महासंघ पदाधिकारी, उद्यमी, व्यवसायी, उद्योग प्रतिष्ठानका कर्मचारीको सहभागिता थियो।