सरकारका कारण जनतामा थप निराशा बढ्दै गयोः डा. शेखर कोइराला

मोरङ – कांग्रेस केन्द्रीस सदस्य डा. शेखर कोइरालाले वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको बताएका छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिकामा बुधबार आयोजित ‘नोना कोइराला स्मृति भवन’ को शिलान्यास कार्यक्रममा नेता कोइरालाले सरकारको कारण जनतामा थप निराशा बढ्दै गएको बताए।

उनले गठबन्धन सरकार गम्भीर रुपमा प्रस्तुत हुन नसके मुलुकमा अझै ठूलो आर्थिक संकट निम्तिने चेतावनी दिएका थिए।

नेता कोइरालाले भने, ‘पछिल्लो समय चर्कदै गएको आर्थिक समस्याका कारण उद्योगी ब्यवसायीले आत्मदाहको बाटो रोज्नु परिरहेको छ। यो निकै गम्भीर कुरा हो। मुलुकको लागि समेत यो राम्रो संकेत होइन।’

कार्यक्रममा नेता कोइरालाले बढ्दै गएको आर्थिक समस्या समाधानका लागि सबै दलले साझा धारणा बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए।

नेता कोइरालाले अर्को फरक प्रसंगमा फागुन २५ गते हुने राष्ट्रपतीय निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने दोहोर् याए। उनले भने ‘कांग्रेसबाट राष्ट्रपतिका लागि कसको उम्मेदवारी हुन्छ यो विषय गौण हो। तैपनि कांग्रेसले उम्मेदवारमा खडा गर्छ।’

आन्तरिक कलहले पार्टी कमजोर हुने बताएका नेता कोइरालाले सत्तामा नहुँदा कांग्रेस कमजोर भएको भन्ने कुरा त्याग्न नेता–कार्यकर्तालाई आग्रह गरेका थिए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, लक्ष्मी खतिवडा, कांग्रेस प्रदेश –१ का महामन्त्री उमेश थापा, सुनसरी कांग्रेसका सभापति केदार भण्डारी, बराहक्षेत्र–४ का कांग्रेस सभापति नूतन धामीलगायतको उपस्थिति थियो।

नोना कोइराला स्मृति भवन निर्माणका लागि वडा सभापति धामीले जग्गा उपलब्ध गराएका हुन्।

माघ १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्