फुटबल समय सीमाभन्दा बढी: प्रशिक्षक एन्सेलोट्टी

फाइल तस्बिर।

रियल मड्रिडका प्रशिक्षक कार्लाे एन्सेलोट्टीले फुटबल समय ‘सीमाभन्दा बढी’ भइरहेको बताएका छन्।

उनले फुटबल समय खेलाडीका लागि निकै चुनौतीपूर्ण रहेको बताएका हुन्।

लस ब्लान्कोसले फेब्रुअरीको अन्त्यमा मोरक्कोमा हुने क्लब विश्वकप खेल्नेछ र च्याम्पियन्स लिग, कोपा डेल रे र स्पेनिस लिग उपाधिको होडमा रहेको छ।

गत जनवरीमा स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग मड्रिड पराजित भएको थियो भने प्रतियोगिता साउदी अरेबियामा भएको थियो।

एन्सेलोट्टीले बुधबार पत्रकार सम्मेलनमा भने, ‘हामी प्रतियोगिता त्याग्ने छैनौँ, किनकि यो क्लबले सबै प्रतियोगिताहरूमा सकेसम्म उपस्थिति जनाउँछ।’

खेलाडीलाई आराम गर्नु महत्त्वपूर्ण छ तर अहिले उनीहरूका लागि खेलको तालिकामा अत्यधिक चाप रहने गरेको उनकाे भनाइ छ।

‘ला-लिगाले आफ्नो तालिका अनुसार खेल तय गर्छ, स्पेनिस फुटबल महासङ्घ (स्पेनिस एफए) आफ्नो कार्यक्रम बनाउँछ, फिफाको आफ्नै तालिका छ र यूईएफए आफ्नै कार्यक्रमअनुसार चल्न चाहन्छ’,उनले भने।

प्रशिक्षकले आफ्ना खेलाडीसँग आराम गर्ने समय नभएको र फुटबलका वरिष्ठ अधिकारीहरूको समूहले (एलाइट टिम) ले अत्यधिक फुटबल तालिका समायोजनका लागि विशेष सोच्नुपर्ने उनले बताए।

‘यो धेरै गम्भीर विषय हो’,उनले थपे।

प्रशिक्षक एन्सेलोट्टीले भने, ‘हामी खेल्न उत्साहित छौँ। खेलाडीहरूले यसलाई मन पराउँछन्। तर त्यहाँ सबै कुराको सीमा छ र मलाई लाग्छ कि अहिले यो तालिकाको साथ हामी अघि बढ्दै छौँ। हामी सबै मिलेर यसलाई परिवर्तन गर्न केही न केही गर्नुपर्छ।’

माघ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्