संसदमा महिला पत्रकारलाई किन यस्ताे विभेद?

जनताद्वारा चुनिएका प्रतिनिधिले विधिविधान बनाउन र त्यसअनुसारको शासन स्थापित गर्नका लागि अभ्यास गर्ने ठाउँ- संसद् भवन। अर्थात् संसदीय लोकतन्त्रको केन्द्र नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र। गाउँ-गाउँमा सिंहदरबार पुगेको र लोकतन्त्र स्थापित भएको दावी गरिन्छ। तर त्यसको केन्द्रमै एक सामान्य नागरिकका रूपमा लोकतन्त्रको न्यूनतम आधार पनि स्थापित नभएको महसुस भयो, बुधबार (माघ १८ गते)।

बुधबारको संसद् बैठक १ बजेबाट थियो। फोटो पत्रकार भएकाे नाताले संसदीय गतिविधिलाई तस्बिरमार्फत् पाठक/दर्शकसम्म लैजानका लागि प्राय: संसद् भवन जाने गरेकी छु। बुधबार साढे १२ बजे नै त्यहाँ पुगेकी थिएँ।

फोटो पत्रकारहरूमध्ये महिला फोटोपत्रकार ३ जना मात्रै संसद् भवनमा थियौँ। बैठकको घण्टी बज्यो, अरू फोटो पत्रकारजस्तै मपनि तोकिएको गेटबाट प्रवेश गरेँ। संसद् बैठकको तस्बिर खिचेँ। भित्र हामीलाई मोबाइल फोन प्रयोग गर्न दिइँदैन, तर सांसदहरूले भने पाउँछन्। कार्यालयमा तस्बिर पठाउनका लागि मोबाइलको प्रयोग गर्नुपर्ने हुँदा हामी फोटो पत्रकारहरू बाहिर निस्कन्छौँ। बुधबार पनि बैठक चलिरहेको भवनबाट बाहिर निस्किएँ। अरू साथीहरू पनि आएका थिए।

तस्बिर पठाएपछि क्यामरा बाहिर नै राखेर शौचालय जानका लागि ढोका खोल्न खोजेँ। पिसाब निकै च्यापेको थियो। तर एक मर्यादा पालकले जान नमिल्ने बताइन्। मैले पिसाब गर्न जान लागेको भनेँ। ती मर्यादापालकले शौचालय जान मिल्दैन भनिन्। मैले किन नमिल्ने हो अनि कहाँ जाने? भनेर पनि सोधेँ। मर्यादापालकले भित्रको शौचालयमा जान नमिल्ने भन्दै मलाई बाहिरको प्रयोग गर्न भनिन्।

बाहिर रहेको शौचालयमा  स्पष्ट रूपमै पुरुष शौचालय लेखिएको थियो। त्यो त पुरुष शौचालय हो कसरी जानुभन्दा मर्यादापालकले त्यही जानू भनिन्। उनले भित्र जान नमिल्ने अड्डी लिइरहिन्। पुरुषका लागि तोकिएको शौचालयमा कसरी जानू? आखिर भित्र महिलाका लागि छुट्याइएको शौचालय थियो।

पिसाबले च्यापेकै थियाे। म बाहिर आएर साथीहरू तथा संसदीय मामिला पत्रकार समाज नेपालका अध्यक्षलाई घटना विवरण सुनाएँ। साथीहरू अचम्ममा परे। यस्तो घटना संसद् भवनमा महिला फोटो पत्रकारमाथि पहिलोपटक भएको पनि होइन । केही समयअघि फोटो पत्रकार साथी निशा भण्डारीलाई पनि शौचालय प्रयोग गर्न दिइएको थिएन।

राज्यका रहेक नागरिकका लागि आधारभूत अधिकार र आवश्यक व्यवस्था गर्नका लागि चुनिएका प्रतिनिधि पुग्ने ठाउँमै यस्तो व्यवहार हुने गरेको छ।

हामीलाई रोकिएको शौचालय मर्यादापालक महिला, महिला सांसदहरूले प्रयोग गर्न हुने तर हामी महिला फोटो पत्रकारले भने त्यहाँ जान नहुने किन होला? हामीलाई किन पुरुषका लागि तोकिएको शौचालय प्रयोग गर्न बाध्य पारिएको होला? महिला फोटो पत्रकारलाई महिलाका लागि भनिएको संसद भवन भित्रको शौचालयको प्रयोग गर्न नदिनू भनेर आदेश दिने माथिको आदेश के होला? वा कहाँबाट आएको होला? यी सबै प्रश्न अनुत्तरित छन्।

यो सामान्यजस्तो लाग्न सक्छ तर यही लेखबाट म संसद सचिवालय, सांसदहरू तथा सरकारसँग यी प्रश्नहरूको जवाफ माग्न चाहन्छु। आखिर संसद भवनमै लोकतन्त्रको सामान्य अंश किन महसुस गर्न पाइँदैन?

हामीले बोक्ने क्यामेरा वा कलम बन्दुक त होइन। जनताबाट चुनिनु भएका सांसदज्यूहरू हामी पनि तिनै जनतालाई तपाईंहरूका कामबारे जानकारी गराउनका लागि खटिएका छौँ। अनि फरक व्यवहार किन? शौचालयसम्म प्रयोग गर्न किन दिइँदैन?

अझ दुःखको कुरा त बुधबार यति सब कुरा भइरहँदा सञ्चारमन्त्री रेखा शार्मा बाहिरै हुनुहुन्थ्यो। देख्नु भएको थियो तर उहाँले के भयो वा कुरा के हो भनेर सोध्नुसम्म भएन।

लोकतन्त्रकै अंश हो पत्रकारिता पनि तर हामी महिला फोटो पत्रकारलाई भने किन शौचालय प्रयोग गर्न मै बन्देज गरिन्छ? यो अमानवीय व्यवहार कहिलेसम्म सहने। संसद सचिवालयमा बारम्बार जानकारी गराएका छौँ। उसले गम्भीरताका साथ लिएको छैन। संसदले यस विषयमा कहिले कुरा बुझ्ला?

माघ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्