राष्ट्रपति बाइडेनको निवासमा एफबिआइको खोजी अभियान, के छ कारण?

अमेरिकी राष्ट्रपति जो बाइडेनका वकिलले बाइडेनकाे डेलावेयरस्थित घरमा एफबिआइको खोजी कार्यका क्रममा कुनै महत्त्वपूर्ण कागजात नभेटिएको बताएका छन्।

राष्ट्रपतिको ‘पूर्ण सहयोग’मा ‘योजनाबद्ध’ ढंगले बुधबारको खोजी कार्य सम्पन्न भएको पनि उनले बताए।

खोजी अभियान चार घण्टासम्म चलेको थियो। ओबामा राष्ट्रपति हुँदा बाइडेन उपराष्ट्रपति थिए। साेही क्रमका संवदेनशील दस्तावेजसँग सम्बन्धित खाेजी अभियान थियाे।

यद्यपि एफबिआइले यस विषयमा अहिलेसम्म कुनै बयान जारी गरेको छैन। वास्तवमा यो खोजी राष्ट्रपतिको सहमतिमा गरिएको थियो।

बाइडेनका वकिल बब बाउरले एफबिआइले कुनै खास कागजात नपाएको तर सन् २००९ देखि २०१७ को अवधिमा केही ‘विशेष हस्तलिखित नोट’ फेला परेको बताए। जसलाई एफबिआइले ‘समीक्षा’का लागि साथमा लिएको छ।

वासिङ्टनको पेन बाइडेन सेन्टरको कार्यालयमा केही संवेदनशील जानकारी भएका कागजातहरू फेला परेका थिए। त्यसपछि धेरै ठाउँमा खोजी गरिएको थियो। डेलावेयरमा राष्ट्रपति बाइडेनको घरको खोजी पनि त्यही अभियानको हिस्सा हो।

डिसेम्बर र जनवरीमा बाइडेनको डेलावेयर निवासमा गरिएको खोजी अभियानमा धेरै महत्त्वपूर्ण कागजातहरू फेला परेका छन्।

अहिलेसम्म भेटिएका संवेदनशील कागजातको यकिन संख्या नआए पनि जनवरीमा मात्रै गरेको खोजीमा दर्जनौँ कागजात फेला परेको बताइएको छ।

माघ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्