पोखराको सडकमा पार्किङ निषेध, विकल्प कहाँ?

पाेखरा- पोखरा महानगरपालिकाले गएको भदौ तेस्रो साता घरधनीलाई प्रयाेजन विपरीत प्रयोग भइरहेको अन्डरग्राउण्ड खाली गराउन ३५ दिने निर्देशन दियो। अन्डरग्राउण्ड पार्किङमै प्रयोग हुनुपर्ने भन्दै दिएको महानगरको त्यो निर्देशन पाँच महिना बित्दासमेत पूर्णरूपमा पालना भएको छैन।

महानगरले केही अन्डरग्राउण्डमा त डोजर नै चलाएर व्यवसाय हटाउयो। तर खाली भएका सबै भवनका अन्डरग्राउण्ड पार्किङस्थलको रूपमा परिणत हुन सकिरहेको छैन।

पहुँचवाला घरधनीको अन्डरग्राउण्ड त झन् महानगरले खाली गराउन समेत सकेको छैन। अटेरी घरधनीलाई माघ २३ गतेसम्म खाली गराउन महानगरले अनुरोध गरेको छ। अन्डरग्राउण्ड खाली गराउन सुरु गरेको महानगरको अभियानलाई मेयर धनराज आचार्यको असफल स्टन्टको संज्ञा दिन्छन् पोखरेलीले।

पछिल्लो पल्ट पोखरा महानगरपालिकाले ‘कोर एरिया’ को सडकमा पार्किङ निषेधको निर्णय गरेको छ। यो निर्णय माघ २३ गतेदेखि लागू हुँदैछ। आगामी सोमबारदेखि सवारीको अत्यधिक चाप हुने पोखराको पृथ्वीचोक, सभागृह, न्युरोड, विपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोको सडक छेउमा पार्किङ निषेध गरिँदैछ।

यी क्षेत्रमा सवारीको अत्यधिक चाप हुँदा आवागमनमा समस्या भएको र सहरी सौन्दर्यमा समेत असर पुगेकाले सडकमा पार्किङ निषेध गरेको महानगरपालिकाले जनाएको छ।

पोखराको सहरी क्षेत्रको सौन्दर्यकरणका लागि पार्किङ व्यवस्थापन आवश्यक भएको महानगरका प्रवक्ता मोतिराज तिम्सिना बताउँछन्।

पार्किङ निषेध गरेको महानगरले विकल्पसमेत दिएको उनले बताए। उनका अनुसार घरका अन्डरग्राउण्ड र खाली जग्गा पार्किङका लागि महानगरले दिएको विकल्प हो।‘जति पनि पार्किङ प्रयोग गर्ने भनिएको छ घरका अन्डरग्राउण्डहरु। यी एरियामा खाली गरिसकेको अवस्था छ। कतिपय व्यवस्थापन गर्दैछौँ’, उनले भने।

महानगरको स्वामित्वमा रहेका र निजी स्वामित्वका खाली जग्गा पार्किङस्थल बनाइनेछ। प्रवक्ता तिम्सिनाका अनुसार पार्किङ निषेधित क्षेत्रका ५ स्थानमा खाली जग्गा पार्किङस्थलका रुपमा प्रयोग गर्न सम्झौता भएको छ।

‘पोखरा प्रदर्शनी केन्द्रलाई र सभागृह समेतलाई हामीले आवश्यकता अनुसार पार्किङ सुविधाका लागि मिलाउने निधो गरेका छौँ’, उनले भने।

तोकिएको स्थानमा पार्किङ गरेर पुग्नुपर्ने ठाउँसम्म यात्रा गर्नलाई महानगरले दुईवटा सटल बस सञ्चालनको तयारी महानगरको छ। तिम्सिनाका अनुसार पार्किङ निषेध गरिएको क्षेत्रमा सटल बस निरन्तर ओहोरदोहोर गरिरहनेछ।

कोर एरियाको सडकमा पार्किङ निषेधित गरेको महानगरले पोखराको सुन्दरतामा वृद्धि हुने र पर्यटकलाई थप आकर्षित गर्ने दावा गरेको छ। दुर्घटनामा कमी आउने बताएको महानगरलले यसअगाडि भने सडकमै पार्किङ गरेवापत् शुल्क उठाउन ठेक्का नै लगाएको थियो।

महानगरले गत पुस ८ गतेदेखि सडक पार्किङ शुल्क उठाउँदै आएको फेवा सावित्री जेभीसँगको ठेक्का तोड्यो। ०७७ सालमा फेवा सावित्री जेभीलाई २ वर्ष सडक पार्किङको शुल्क उठाउन ठेक्का दिएको थियो। ०७९ मंसिर २७ गतेसम्मका लागि सम्झौता भएकोमा निवर्तमान मेयर मानबहादुर जिसीले जाँदाजाँदै सुटुक्क पुनः ४ महिनाका लागि समय थपिदिएका थिए। तर सावित्री जेभीले तिर्नुपर्ने वक्यौता रकम नतिरेपछि पुसमा महानगरले सम्झौता रद्द गरिदियो।

सडकमा पार्किङ निषेध गरेको महानगरपालिकाले अन्डरग्राउण्डमा पार्किङ शुल्क निर्धारण गरेको छ। मोटरसाइकल/स्कुटरको प्रतिघण्टा १० रुपैयाँ, हलुका सवारी साधनको ५० रुपैयाँ शुल्क लिन पाउने गरेर महानगरको कार्यपालिका बैठकले निर्धारण गरेको इञ्जिनियर सुरेन्द्र पौडेलले बताए। खाली जग्गामा पनि सोही दररेटमा शुल्क लिन स्वीकृति दिने उनले जनाए।

‘सडकसँगै फुटपाथलाई अवरोध हुने गरेर कहीँ पनि पार्किङ गर्न पाइनेछैन’, उनले भने।

फुटपाथ पार्किङका लागि नभएर यात्रु हिँड्नलाई भएको उनको भनाइ छ। पार्किङ निषेधका लागि महानगरले ट्राफिक प्रहरी कार्यालय कास्कीसँगसमेत सहकार्य गरेको छ। निषेधित भनिएको क्षेत्रमा पार्किङ गरेका सवारी चालकसँग जरिवाना असुल्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

विरोधमा व्यवसायी र चालक

महानगरको यो निर्णयलाई एकाथरिले स्वागतयोग्य भन्दै प्रशंसा गरिरहेका छन्। पृथ्वीचोक, सभागृह, न्युरोड, विपीचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार क्षेत्रबाट अन्यत्र पनि व्यापार फैलने विश्वास लिएका पोखरेलीले सकरात्मक भनेका हुन्। तर निषेधित क्षेत्रका व्यापारी र सवारी चालकलाई भने महानगरको निर्णय टाउको दुखाइको विषय बनेको छ।

न्युरोडका व्यवसायी प्रकाश बज्राचार्य भन्छन्, ‘पोखरा महानगरपालिकाले पार्किङसम्बन्धी जुन निर्णय गरेको छ यो चाहिँ दूरदर्शीता होइन। उहाँहरूले पार्किङ दिनुपर्‍याे, कहाँ पार्किङ गर्ने? अहिले पार्किङ हुँदा त व्यवसाय धरासयी अवस्था छ। पार्किङ नहुँदा के होला?’

सडकको एकातर्फ पार्किङको सुविधा दिनुपर्ने उनको माग हो।

महानगरको पार्किङ निषेध गर्ने निर्णय स्टन्ट जस्तै भएको उनको प्रतिक्रिया छ। उनी भन्छन्, ‘बिना सोच, एउटा कुनै दूरदर्शिता छैन। त्यत्तिकै स्टन्टका लागि देखाएको जस्तो लाग्छ।’

यो निर्णयलाई पुर्नविचार गर्न महानगरलाई बज्राचार्यको सुझाव छ।

विगत १३ वर्षदेखि ट्याक्सी चलाइरहेका हरिप्रसाद बराल ट्राफिक जाम नियन्त्रण गर्नलाई पार्किङ निषेध गर्ने निर्णय परिपक्क नभएको बताउँछन्।

उनी भन्छन्, ‘पार्किङ हटाउने मात्र भनेर भएन। पहिला व्यवस्था हुनुपर्‍याे कहाँ पार्किङ गर्ने भनेर। हामीले सरकारलाई तिनुपर्ने कर तिरिरहेका छौँ। केही व्यवस्था त गर्नुपर्‍याे नि।’

महानगरले पेलेर निर्णय गर्न नमिल्ने उनको तर्क छ। अन्डरग्राउण्ड महानगरले विकल्प दिए पनि सबै चारपांग्रे सवारी नअटाउने बरालले बताए।

महानगरको निर्णयको विरोधमा पोखरा उद्योग वाणिज्य संघ पनि उभिएको छ। महानगरको पार्किङ निषेध गर्ने निर्णयमा गम्भीर ध्यानआकर्षण भएको संघले विज्ञप्ति जारी गर्दै गम्भीर निर्णय गर्नेबेला परामर्श नगलिएकोमा दुखेसो गरेको हो।

संघका अध्यक्ष पवनकुमार प्रजापतिद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पोखराको अव्यस्थित ट्राफिक समस्याको व्यवस्थापन हाम्रो चासो र सरोकार हो। संघ महानगरबाट असल नियतले अगाडि सारिएको यो अभियानको सराहना गर्छ। तर यस्तो गम्भीर र दीर्घकालीन महत्त्वको निर्णय लिँदा सरोकारवाला/सहयात्री पोखरा उद्योग वाणिज्य संघसँग कुनै परामर्श नलिनुले दुखित तुल्याएको छ।’

पोखरा महानगरले व्यवस्थापन गर्ने पार्किङस्थलले सवारी चाप थेग्न नसक्ने भन्दै प्रश्न उठाइएको छ। हतारमा निर्णय भएको संघको आरोप छ।

माघ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्