बैंक खाताको विवरण सार्वजनिक भएकाेमा प्रेमप्रसाद आर्चायकी श्रीमती नानुकाकाे आपत्ति

स्वर्गीय प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका आचार्य। फाइल तस्बिर।

काठमडाैँ – आत्मदाह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन्।

बैंक खाताको विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उनले बताइन्।

बैंक खाताको स्क्रिीन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनकाे भनाइ छ।

गृहजिल्ला इलाममा श्रीमानकाे दाहसंस्कारको कर्ममा खटिएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको बताइन्। ‘मेरो श्रीमानले मलाई पैसा आवोस भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन। अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाब दिने म्यासेस र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ’, उनले भनिन्।

उनले भनिन्,’मेरो खातामा पैसा हाल्न मैले कसैलाई व्यक्तिगत रुपमा आग्रह गरेको छैन। सहयोगी मनबाट सहयोग स्वरुप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ।’

उनले आफनो गोपनीयता भङ्ग गर्ने बैंक र कर्मचारीलाई काठमाडौँमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताइन्।

सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आइएमइ बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिीन सटहरूपोस्ट भइरहेको छ।

अधिकारीले बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको विषयमा जानकार भएको बताइन्। ‘हिजो(बुधबार) सांसदहरुले उठाउनु भएको विषयमा थोरै जानकार छु। सांसद मोहन बस्नेतले काठमाडौँमा केही समयअघि रोजगारी र नानीहरुको शिक्षामा सहयोग गर्ने आश्वासन दिनुभएको थियो’, उनले भनिन्। सांसद बस्नेतको आश्वासनप्रति आफू सकारात्मक रहेको उनकाे भनाइ छ।

इलाम जिल्ला प्रशासन कार्यालय प्रमुखबाट पनि आश्वासन पाएको उनले बताइन्। उनका अनुसार केही दिनअघि प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयको प्रतिनिधिको रुपमा आएर आफ्नो मागप्रति सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।

अधिकारीले प्रमुख जिल्ला अधिकारीसँग त्यही बेला बैंक खातामा जम्मा भएको रकमबारे सूचना बाहिर गइरहेको जानकारी गराइन्। सरकारबाट सहयोग गर्ने आश्वासन पाएपछि आफू सकारात्मक भएको उनको भनाइ छ।

श्रीमान् प्रेमप्रसाद आर्चायको माग पूरा गराउन दाहसंस्कारको काम सकिने वित्तिकै काठमाडौँ आउने बताइन्। उनले भनिन्,’उहाँलाई यस्तो निर्णय लिन बाध्य बनाउने सबैलाई कानुनको दायरामा ल्याउन प्रहरीमा उजुरी दिएकी छु। उहाँलाई शहीद घोषणा गर्न माग पनि गरेकी छु।’

माघ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्