म अभिमन्यु होइन, मेरो मौनता आजसम्म मात्र हाे: रवि लामिछाने

रास्वपाका सभापति रवि लामिछाने। फाइल तस्बिर।

काठमडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले अब आफू मौन नबस्ने बताएका छन्।

रविले आफू अभिमन्यु नभएको बताउँदै आजदेखि माैन नबस्ने जनाएका हुन्।

‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन’, बिहीबार सामाजिक सञ्जालमा रविले लेखेका छन्।


अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका एक पात्र हुन्। अर्जुनका पुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्यूहभित्र पसेका थिए तर उनलाई चक्रव्यूहबाट निस्किने उपाय थाहा थिएन। त्यही भएर उनको चक्रव्यूहभित्र उनको हत्या भएको थियो। तिनै पात्रलाई उल्लेख गर्दै लामिछानले आफू त्यस्तो नभएको बताएका हुन्।

माघ १३  गते शुक्रबार सर्वाेच्च अदालतले तत्कालीन उपप्रधान तथा गृहमन्त्री रहेका लामिछानेकाे ना‍गरिकता अवैध भएकाे फैसला गरेपछी पद तथा जिम्मेवारीबाट च्यूत भएका उनले आफूबारे आएकाे टिका-टिप्पणीलाई लक्षित गर्दै यस्ताे बताएका हुन्।

रवि‍ले त्यसलगत्तै आइतबार जिल्ला प्रशासन काठमाडाैँबाट नेपाली नागरिकता लिए पनि उनले पुन:जिम्मेवारी पाउने या नपाउने भन्ने कुरामा यतिबेला चर्काे बहस चलिरहेकाे छ।

यद्यपि, सरकारमा सहभागी प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई पुन:जिम्मेवारी दिन सर्वाेच्चकाे पूर्णपाठ कुर्नु नपर्ने जिकिर गरेका छन् भने प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई चाैतर्फी दवाव आएकाे भन्दै अदालतकाे पूर्णपाठ कुर्नैपर्ने बताएका छन्।

रास्वपाले भने सरकारमा सहभागी हुनकाे लागि आफ्नाे भागमा परेकाे उपप्रधान तथा गृह मन्त्रालय नछाड्ने दावी गर्दै आएकाे छ।

माघ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्