रौतहटमा फरार अभियुक्तलाई पक्राउ गर्न गएका प्रहरीमाथि छुरा प्रहार

सांकेतिक तस्बिर।

वीरगञ्ज- फरार अभियुक्तलाई पक्राउ गर्न गएका प्रहरीमाथि छुरा प्रहार भएपछि हवाई फायर गरी प्रहरीले दुई जना अभियुक्तलाई रौतहटबाट पक्राउ गरेको छ।

डाँका चोरी र ज्यान मार्ने उधोगमा फरार रहेका गौर नगरपालिका-५ कोइरी टोल बस्ने १९ वर्षीय राहुल यादव र वडा नम्बर ४ बस्ने १९ वर्षीय रवि यादवलाई प्रहरीले पक्राउ गरेको हो।

फरार रहेकाहरू गैर नगरपालिका-२ स्थित बाँसघारीमा लुकेर बसेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले अभियुक्तहरूलाई नियन्त्रणमा लिने क्रममा पक्राउ परेका राहुलले प्रहरीमाथि चक्कु प्रहार गरेका थिए।

चक्कु प्रहारबाट प्रहरी सहायक हवल्दार सुरेश यादवको दाहिने हात काटिएको प्रहरीले जनाएको छ।

चक्कु प्रहार भएपछि एक राउण्ड हवाई फायर गरी राहुललाई नियन्त्रणमा लिइएको रौतहटका प्रहरी नायब उपरिक्षक उमाशंकर यादवले जानकारी दिए।

उनको साथबाट प्रहरीले एक थान चक्कु र एक थान कैंची बरामद गरेको यादवले बताए।

पक्राउ परेका दुवैजनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

माघ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्