अरुण चौधरी। फाइल तस्बिर।

धनगढी – १० वर्षदेखि फरार सूचीमा रहेका प्रतिनिधिसभा सदस्य अरुण चौधरी बिहीबार पक्राउ परेका छन्। प्रहरीले उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

चौधरी पक्राउपछि प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ। उनलाई पक्राउपछि कैलाली जिल्ला अदालत लगिँदै गरेको प्रहरीले जानकारी दिएको छ।

ट्याक्टर जलाएको मुद्दामा कैलाली जिल्ला अदालतले करिब १० वर्ष पहिले चौधरीलाई ६ महिना कैद फैसला सुनाएको थियो। अदालतको उक्त फैसलाअनुसार कैद सजाय भुक्तान नगरेका चौधरी प्रतिनिधिसभा निर्वाचन २०७९ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो।

२०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा तत्कालीन बलिया गाविस ५ का महादेव बजगाईंले मुद्दा दायर गरेका थिए।

त्यसको केही वर्षपछि जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले तीनै जनालाई जनही ६ महिना कैद र बिगो रकम असुल्न गर्न आदेश दिएको थियो।

सोही घटनामा प्रहरीले शुक्रबार वीरबहादुर चौधरीलाई पक्राउ गरे पनि सांसद चौधरी प्रहरीले उनलाई पक्राउ गरेको थिएन। वीरबहादुर चौधरीले मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रुपैयाँ दाखिला गरी कैद मुक्त गरिपाऊँ भन्दै दिएको निवेदन अस्वीकार गर्दै अदालतले ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो।

२०७४ मा लम्कीचुहाको मेयर र प्रदेश सभा सदस्यमा पराजित चौधरी २०७९ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए।

माघ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्