मिस नेपाल-२०२३ को आवेदन खुला, एपमार्फत आवेदन दिन सकिने

तस्बिरः सुलभ श्रेष्ठ/देश सञ्चार।

काठमाडौँ – मिस नेपाल-२०२३ को लागि आवेदन खुला भएको छ। द हिडन ट्रेजरले बिहीबार पत्रकार सम्मेलन गरी मिस नेपालको नयाँ संस्करणको घोषणा गरेको हो। प्रतियोगीतामा सहभागी हुन चाहनेहरुले चैत १ गतेसम्म आवेदन दिनसक्ने आयोजकले जानकारी दिएको छ।

यस वर्ष ५ फिट ३ इन्च उचाई तथा १८ देखि २७ वर्ष उमेरसम्मका अविवाहित नेपाली युवतीले निःशुल्क आवेदन दिन सक्ने छन्। सातै प्रदेशमा अडिसन हुने र त्यहाँका प्रतिस्पर्धीलाई समेट्ने तयारी रहेको हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले बताए।

उनका अनुसार काठमाडौँको अडिसन मार्च १८ मा हुने भएको छ। त्यस्तै इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीलगायत क्षेत्रीय अडिसनहरु मार्च १५ सम्ममा सम्पन्न हुने उनले बताए। अन्य स्थानको भने स्थान र मिति पछि सार्वजनिक गरिने जनाइएको छ।

पोखरामा मिस नेपालको रिक्रिएसनल कार्यक्रम आयोजना गरिने भएको छ। पहिलो पटक मिस नेपालले औपचारिक रुपमा काठमाडौँबाहिर यस्तो कार्यक्रम गर्न लागेको कंसाकारले बताए।

गत वर्ष झण्डै ७०० जनाले आवेदन दिएका थिए। यस वर्ष विभिन्न कार्यक्रममार्फत सहभागीको संख्या बढाउने हिडन ट्रेजरको योजना छ। पत्रकार सम्मेलनमा मिस नेपालको आधिकारिक मोबाइल एपसमेत सार्वजनिक गरिएको छ। सोही एपमार्फत इच्छुकले आवेदन दिन सक्नेछन् भने दर्शकले फिनालेको टिकट खरिद गर्न सक्नेछन्।

पत्रकार सम्मेलनमा हिडन ट्रेजर अध्यक्ष दिवाकर राजकर्णिकारले मिस नेपाललाई बृहत र समावेशी बनाउन प्रयत्न हुने बताएका छन्। यसपटक मिस नेपालको टाइटल स्पोन्सरमा डाबर बाटिका रहेको छ।

जेठ १३ गते ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना हुने आयोजकले बताएका छन्।

तस्बिरहरुः सुलभ श्रेष्ठ/देश सञ्चार।

माघ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्