प्रदेशको संरचना खारेजी गर्नुपर्ने अवस्था छैनः हिक्मत कार्की

मोरङ – प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको संरचना खारेजी गर्नुपर्ने अवस्था नभएको बताएका छन्।

विराटनगरमा सिआइएन कोसी एक्स्पो २०२३ को उद्घाटनका क्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको संरचनाबारे आलोचनासँगै सकारात्मक कुरा बाहिर आउन आवश्यक भएको बताए।

प्रदेश सरकारको विपक्षमा धारणा सामाजिक सञ्जालमा छरपस्ट भएको बताएका मुख्यमन्त्री कार्कीले भने, ‘मैले सामाजिक सञ्जालमा देखेको छु। प्रदेश खर्चिलो भएको, प्रदेश संरचना खारेज गर्नुपर्छ, प्रदेशको काम छैन भन्ने खालका स्टाटस लेखेको मैले नजिकबाट हेरेको छु। यसको कमजोरी समीक्षा गर्दै राम्रा कामको समेत प्रशंसा गर्नुपर्छ।’

प्रदेशको नामकरणबारे सरकार केही अलमलिएको स्वीकार गरेका मुख्यमन्त्री कार्कीले भने, ‘१ नम्बर प्रदेशको नामकरण हुन नसकेको कुराको चौतर्फी आलोचना भएको छ। हामीले बुझेका छाैँ। प्रदेश सभाले प्रदेशको नामकरण गर्ने हो। हामी अलमलिएका छौँ। तर, यसलाई उच्च प्राथमिकतामा राखेका छौँ।’

प्रदेश सरकार राजनीतिक दलसँग सहमतिमा नामकरण गर्नेतर्फ लक्षित रहेको बताएका मुख्यमन्त्री कार्कीले सहमतिबाट नामको विषय टुंग्याउने र सहमति बन्न नसक्दा विधि प्रक्रियाअनुसार सरकार अघि बढ्ने बताए।

प्रदेशको औद्योगिक करिडोरको व्यवस्थापन, कृषि तथा उद्योग क्षेत्रलाई सम्वद्र्धन गर्न र औद्योगिक प्रतिष्ठानलाई सकारको सामथ्र्यअनुसार सहयोग गर्ने वचन मुख्यमन्त्री कार्कीले दिएका थिए।

माघ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्