सिमकोटको रिङरोड निर्माण अब अगाडि बढ्ने

सिमकोट – हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटको रिङरोड निर्माण अगाडि बढ्ने भएको छ। पुनः कर्णाली प्रदेश सरकारबाट बजेटको व्यवस्था भएपछि बजेट अभावले रोकिएको निर्माण कार्य अगाडि बढ्ने भएको हो।
सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले असारपछि निर्माण रोकिएको सिमकोट रिङरोड निर्माण अगाडि बढ्ने बताए।
कर्णाली प्रदेश सरकारले चालुु वर्षका लागि ५० लाख बजेटको व्यवस्था गरेपछि रोकिएको निर्माण कार्य अगाडि बढ्ने भएको होे।
असारमा काम गर्न नभ्याएपछि विनियोजित ५० लाख बजेटमध्य २५ लाख रुपैयाँ फिर्ता गएको थियो। उपभोक्ताले अन्तिम समयमा काम सुुरु गरेका कारण बजेट फिर्ता गएको हो।
गाउँपालिकाको आफ्नै स्रोत नभएको र अरूको मुख ताक्नुपर्ने भएका कारण रिङरोड निर्माण अनिश्चित भएका बेला कर्णाली प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री जीवनबहादुुर शाहीले सो बजेटको व्यवस्था गर्न लगाएका थिए।
अब बजेट गाउँपालिकाको कार्यालयमा आएको र स्थानीय जग्गाधनीसँग छलफल र उपभोक्ता समिति गठनपछि निर्माण सुुरु गरिनेछ। हालसम्म रिङरोड नभएको सदरमुकाममा सिमकोट पर्छ। सो रिङरोड ६ वर्षदेखि निर्माणाधीन छ।
सीमित बजेटको व्यवस्था हुने गरेका कारण बजेटअनुुसार काम हुँदै आएको छ। उक्त रिङरोडको हालसम्म निर्माण भएको क्षेत्रमा सिमकोट गाउँपालिका–६ को आवासीय विद्यालयदेखि ५ नम्बर वडाको भदालेसम्म डेढ किमि छ।
रिङरोडको निर्माण भएको क्षेत्रमा ६ देखि सात मिटर चौडा सडक निर्माण भएको छ। ०७३ सालमा तत्कालीन जिल्ला विकास समितिले बजेट व्यवस्था गरेपछि रिङरोड निर्माण सुुरु भएको थियो।