कोसी एक्स्पो २०२३ विरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा

मोरङ – विराटनगरमा सुरु भएको सिएनआई कोसी एक्स्पो २०२३ विरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा परेको छ।
विराटनगर महानगरको शंकरपुरमा बिहीबारबाट सुरु भएको एक्स्पो आयोजनास्थलमा सडक अवरुद्ध गरिएपछि स्थानीयले उच्च अदालतमा मुद्दा दायर गरेका हुन्।
विराटनगर ९ का स्थानीय विद्यार्थी विन्दा नन्द नुन्दीले सडक अवरुद्ध गरी एक्स्पोको आयोजना गरिएकोमा एक्स्पोको आयोजक, जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिका, वडा नम्बर २, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङविरुद्ध मुद्दा दायर भएको अधिवक्ता रुपेश कोइरालाले जानकारी दिए।
कानुन विषयमा स्नातक अध्ययन गरिरहेका २५ वर्षीय नुन्दीले विराट नर्सिंग होमको करिब १ सय मिटर पूर्व कालोपत्रे सडकखण्डमा प्रवेश निषेध गरिएको बताए। सडकमा सर्वसाधारणले निर्वाध हिँडडुल गर्न पाउनुपर्ने बताएका नुन्दीले सडकमा अवरोध सिर्जना गरी हिँडडुल गर्न ट्राफिक प्रहरी खटिनु लज्जास्पद भएको बताए।
मेला आयोजनास्थलका लागि सहजता प्रदान गर्ने गरी महानगर, ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सडक अवरुद्ध गरिनु संविधानले दिएको अधिकार बर्खिलाप काम गरिएको उनको भनाइ छ।
उनले सडक अवरोधसँग एक्स्पोस्थल नजिक रहेको विराट नर्सिङ होममा उपचार गर्न पुगेका बिरामीलाई समेत ध्वनि प्रदूषण हुने बताए। करिब १० दिनसम्म चल्ने सो एक्स्पोको पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।