सन्दीपलाई बन्द प्रशिक्षणमा राख्नु कति जायज?

काठमाडौँ – आगामी २ फागुनदेखि टियू मैदान कीर्तिपुरमा हुने विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजका लागि पूर्वकप्तान सन्दीप लामिछाने शुक्रबारदेखि बन्द प्रशिक्षणमा सहभागी हुँदैछन्।
बलात्कार आरोप लागेका सन्दीपलाई क्यानले क्लोज क्याम्पमा बोलाएसँगै उनको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा बहस भइरहेको छ। कतिपयले गम्भीर आरोप लागेको व्यक्तिले सफाइ नपाउँदासम्म टिममा बोलाउनु नहुने मत राखेका छन् भने कतिपयले सन्दीपको आरोप पुष्टि नभएको अवस्थामा उनलाई टिममा सहभागी गराउनु जायज भएको तर्क गरेका छन्।
राष्ट्रिय क्रिकेट टिमका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले आफूहरुले लामो छलफल र अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाउन लागेको बताए।
उनले भने, ‘यस्तो अभियोग लागेका क्रिकेटरलाई खेलाउने अभ्यास हामीले मात्र गरेका हैनौँ। अन्तर्राष्ट्रिय रुपमा नै अभियोग प्रमाणित नहुँदासम्म खेलाडीलाई टिममा सहभागी गराउने प्रचलन छ। आईसीसीले अभियोग लाग्दैमा खेल्नबाट रोकेको छैन। सोहीअनुसार हामीले पनि सन्दीपलाई क्लोज क्याम्पमा बोलाएका हौँ।’
चौधरीले सन्दीपलाई क्लोज क्याम्पमा खेलाउँदा केही फरक नपर्ने भएकाले नै प्रशिक्षणमा बोलाएको बताए। उनले भने, ‘हामीले कानुनी परामर्श पनि गरेका छौँ। सन्दीपको ‘इम्पोर्टेन्स’ नेपाली राष्ट्रिय टिममा कति छ सबैसामु स्पष्ट छ। अनि हाम्रा लागि कीर्तिपुरमा हुने खेल पनि उत्तिकै महत्वपूर्ण छ। साथमा उनलाई अहिले आरोप मात्र लागेको हो, पुष्टि पनि भएको होइन। अनि उनलाई अदालतले पनि नखेलाउनु भनेको छैन। त्यही आधारमा रहेर नै हामीले बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेका हौँ।’
टिमका म्यानेजर विनोद दासले कोचले सन्दीपसँग भेटेर छलफल गरेको र उनलाई प्रशिक्षणमा बोलाउने विषयमा उनको धारणा बुझेको बताए। सन्दीपलको शारीरिक र मानसिक अवस्था ठीक भएमा कोचले क्याम्पमा बोलाउन सक्ने बताए।
म्यानेजर दासले भने, ‘क्यानले उनलाई निलम्बनबाट फुकुवा गरेपछि टिममा राख्ने नराख्ने विषय प्रशिक्षक र छनोटकर्ताको हुन्छ। त्यसैले आज प्रशिक्षकले सन्दीपसँग भेट गरेको हो।’
बलात्कार आरोप लागेपछि सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा पठाएको थियो। तर सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेपछि उनलाई २० लाख धरौटीमा विभिन्न सर्त सहित थुनामुक्त गरिएको छ।
सन्दीप थुनामुक्त भएसँगै मंगलबार पोखरामा क्यानले सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गरेको थियो। गत भदौमा बलात्कारको अभियोग लागेर पक्राउ पुर्जी जारी भएपछि क्यानले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो। उनीमाथि अहिले पनि जिल्ला अदालत काठमाडौँमा नाबालिग बलात्कारको मुद्दा विचाराधीन छ।
क्यानले यसअघि कीर्तिपुरमा हुने सिरिजका लागि प्रारम्भिक टिम घोषणा गरेको थियो। बन्द प्रशिक्षणका लागि क्यानले २८ जनालाई बोलाएको थियो।
यसैबीच सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशलाई बदर तथा थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा बिहीबार निवेदन दर्ता भएको छ। निवेदनमाथि शुक्रबार सुनुवाइ हुनेछ।