सांसद चौधरीलाई २४ घण्टाभित्र रिहा नगरे आन्दोलनमा उत्रिने नागरिक उन्मुक्तिको चेतावनी

धनगढी – आफ्नो पार्टीबाट निर्वाचित सांसद अरुण चौधरीलाई २४ घण्टाभित्र नछाडे नागरिक उन्मुक्ति पार्टीले सशक्त आन्दोलनमा उत्रिने घोषणा गरेको छ।
पार्टीले बिहीबार पत्रकार सम्मेलनमार्फत प्रेस विज्ञप्ति जारी गर्दै कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका अरुणकुमार चौधरीलाई रिहा नगरे सशक्त आन्दोलनमा उत्रिने घोषणा गरेको हो।
पार्टीका प्रवक्ता दामोदर पण्डितले आफ्ना सांसदको मुद्दाबारे सरकारसँग पहिल्यै सहमति भइसकेको घटनालाई कोट्याइएको आरोप लगाएका छन्।
विज्ञप्ति जारी गरिएको समयदेखि २४ घण्टाभित्र आफ्ना सांसदलाई रिहा नगरिए कडा आन्दोलनमा उत्रिने बताउँदै आन्दोलनमा क्रममा हुने क्षतिको जिम्मेवारीसमेत नलिने उनले चेतावनी दिएका छन्।
सांसद चौधरीलाई आज दिउँसो बाँकेबाट पक्राउ गरी काठमाडौँ लगिएको थियो।अहिले उनलाई श्री एयरलाइन्सको फ्लाइटबाट धनगढी ल्याइँदैछ।
उनीसँगै नागरिक उन्मुक्ति पार्टिकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि रहेकी छन्। प्रहरी स्रोतका अनुसार सांसद चौधरीलाई आज जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिने छ।