दाहाल र ओलीको फोनपछि सरकारमा रास्वपाको निरन्तरता

फाइल फोटो।

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट तत्काल नबाहिरिने भएको छ। बिहीबार पार्टी कार्यालय बसुन्धरामा बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा रहने कि बाहिरिने भन्नेबारे पर्ख र हेरको नीति लिने निर्णय गरेको हो।

रास्वपाले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दुई दिनको समय दिएको बैठकपछि प्रवक्ता मुकुल ढकालले जानकारी दिए। प्रधानमन्त्रीले दुई दिनको समय माग गरेकोले पार्टीले दुई दिन पर्खिने निर्णय गरेको ढकालले बताए।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका सभापति रवि लामिछानेलाई टेलिफोन गरेर तत्काल सरकारबाट बाहिरिने निर्णय नलिन आग्रह गरेपछि रास्वपाले उक्त निर्णय गरेको हो।

रास्वपाले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिँदै आएको छ। सर्वोच्च अदालतले माघ १३ गते रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले उपप्रधान तथा गृहमन्त्री पद गुमाएका थिए।

उनले अमेरिकाको नागरिकता त्यागेर नेपालको नागरिकता पुनःप्राप्तिका लागि कानुनी प्रक्रिया पूरा गरेको भन्दै सर्वोच्चले उनको नागरिकता अवैध रहेको ठहर गरेको थियो।

लामिछानेले आइतबार नै नेपाली नागरिकता पुनः लिइसकेका छन्। नागरिकता लिएपछि उनले प्रधानमन्त्री प्रचण्डसमक्ष आफूलाई गृहमन्त्री बनाउन दबाब दिँदै आएका छन्। सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न पाउने प्रावधानअनुसार आफूलाई पुनः गृहमन्त्री बनाउनुपर्ने उनको माग छ।

उनले यस विषयमा एमाले अध्यक्ष ओलीमार्फत प्रधानमन्त्री प्रचण्डमाथि दबाब दिएका छन्। तर प्रधानमन्त्री प्रचण्ड भने उनको मुद्दामा सर्वोच्च अदालतबाट पूर्णपाठ नआएसम्म र उनको राहदानीसम्बन्धी विवाद किनारा नलागेसम्म गृहमन्त्री नबनाउने अडानमा छन्।

माघ १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्