धनगढी – बिहीबार बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद् अरुणकुमार चौधरीलाई आज कारागार चलान गरिएकाे छ।

ट्र्याक्टर आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएको देखिएका सांसद् चौधरीलाई प्रहरीले आज कैलाली जिल्ला अदालतमा उपस्थित गराएकाे थियाे। अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका हुन्।

उनलाई बिहीबार बाँकेबाट विमानमार्फत् काठमाडौँ ल्याएर काठमाडौँबाट विमानमार्फत् नै धनगढी पुर्‍याइएको थियो। बिहीबारदेखि चौधरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीले चौधरीलाई आज कैलाली जिल्ला अदालतमा उपस्थित गराइने जनाएको छ। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए। उनीलगायत ३ जनालाई कैलाली जिल्ला अदालतले बिगो सहित ६ महिना कैदको फैसला सुनाएको थियो।

नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद् ‍चौधरीको रिहाइ माग गर्दै बिहीबार नै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ।

पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको भर्त्सना गरेका छन्।

थरुहट आन्दोलनकारी र सरकारबीच ३ भदौ २०६६ मा सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको स्मरण गराउँदै नागरिक उन्मुक्तिले त्यसयता सबै निर्वाचनमा उनी लड्दै आएको बताएको छ।

माघ २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्