सन्दीप लामिछाने मुद्दा: सबै कागजात पेश गर्न सर्वोच्चकाे आदेश

फाइल तस्बिर।

काठमाडौँ – बलात्कारकाे अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाविरुद्धकाे मुद्दामा सबै कागजात पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी पक्षले दायर गरेको पुनरावलोकन निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको शुक्रबारको एकल इजलासले कैफियत प्रतिवेदन मगाउने आदेश दिएको हो।

न्यायाधीश फुयालको इजलासले सन्दीपविरुद्ध मुद्दा दर्तादेखि उच्च अदालत पाटनबाट धरौटीमा छोड्ने आदेश सम्मका फाइलहरु मगाउन भनेको हो।

जबरजस्ती करणीको मुद्दा खेपेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो।

उक्त आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो। नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर लामिछानेलाई थुनामा राख्नुको साटो धरौटीमा छाड्ने उच्च अदालतको आदेश प्रचलित कानुन र न्यायिक सिद्धान्त विपरीत रहेको भन्दै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा पुगेको हो। उक्त निवेदनअनुसार आदेश जारी भए सन्दीप मुद्दाको टुंगो नलागेसम्म थुनामै बस्नुपर्ने हुन्छ।

बलात्कार अभियाेग लागेपछी नेपाल क्रिकेट संघ (क्यान)बाट निलम्बनमा परेका तत्कालीन कप्तान लामिछाने बिहीबार साँझदेखि हुने बन्द प्रशिक्षणमा पनि सहभागी भएका छन्। उनले बिहीबार नै कीर्तिपुर पुगेर अभ्यासमा सहभागिता जनाएका हुन्।

क्यानको पोखरामा भएको बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो।

माघ २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्