बागमतीका सांसद खड्कालाई हातहतियार कसुरमा मुद्दा चलाउन सिफारिस

वीरगञ्ज – बागमती प्रदेशसभा सदस्य शयाम बहादुर खड्कालाई हात हतियार खर खजाना ऐन २०१९ अनुसार थप कारवाही गर्न पर्सा राष्ट्रिय निकुञ्जले सिफारिस गरेको छ।

निकुञ्जको कार्यालयले जरायो मारेको घटनामा प्रदेश सभा सदस्य खडकालाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई सिफारिस गरिएको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए।

गत पुस ४ गते पर्सा राष्ट्रिय निकुञ्जको जंगलबाट मृत जरायो र हतियारसहित पाँच जनालाई निकुञ्जको संरक्षण टोलीले पक्राउ गरेको थियो। बरामद गरिएको हतियार प्रदेशसभा सदस्य खड्काको नाममा दर्ता भएको पाइएको थियो।

खड्काको हकमा आफनो नाममा दर्ता भएको हतियार अन्य ब्यक्तिलाई प्रयोग गर्न दिई वन्य जन्तुको सिकार गरेको देखिएको हँुदा उनलाई हातहतियार खर खजाना ऐन, २०१९ बमोजिम थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा लेखि पठाइएको निकुञ्ज जनाएको छ।

मंसिर ४ गते भएको निर्वाचनमा खड्का काठमाडौं क्षेत्र नम्बर ५ को २ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। जरायो मारेको घटनाकै बारेमा गत पुस ४ गते पक्राउ परेका पाँचजना आरोपित तथा प्रदेशसभा सदस्य खडका र अर्का प्रदेशसभा सदस्य प्रमोद जैसवालसहित ४९ जना विरुद्ध निकुञ्जको कार्यालयले मुद्दा दर्ता गरेर कारबाही अघि बढाएको छ।

निकुञ्जको जंगलमा शिकार गर्न गएको अवस्थगामा पाँच जनालाई निकुञ्जको संरक्षण टोलीले मृत अवस्थामा रहेको जरायो र जरायोको सिङ, शिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, दुई लाख ९० हजार ६ सय ३० रुपैयाँ नगद बरामद गरेको थियो।

साथै बा ५ त ७८०५ नम्बरको गाडी, र प्रदेश २–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी पनि नियन्त्रणमा लिएको थियो।

माघ २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्