नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित छः वायुसेवा सञ्चालक संघ

काठमाडौँ – वायुसेवा सञ्चालक संघले नेपालको हवाई उडान र उद्योग दुबै सुरक्षित रहेको बताएको छ।

वायुसेवा सञ्चालक संघले काठमाडौँमा शुक्रवार हवाई सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित रहेको बताएको हो।

संघले हवाई दुर्घटना एउटा मात्रै कारण नभएर धेरै कारणले हुने बताएको छ। संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित रहेको बताए। उनले धेरै राम्रो हवाई सुरक्षा भएको देशमा पनि विभिन्न कारण दुर्घटना हुने गरेको बताए।

उनले हवाई दुर्घटनालाई सामान्य लिन नहुने भन्दै दुर्घटनाबाट पाठ सिकेर थप हवाई उडानलाई सुरक्षित बनाउन आवश्यक रहेको उल्लेख गरे। अध्यक्ष थापाले हवाई दुर्घटना जहाज मेसिन, मौसम, प्राविधिक पक्ष, व्यवस्थापन, नियमन र मानवीय गल्तीलगायतको कुनै पनि कारण हुन सक्ने बताए।

उनले नेपालको हवाई उडान उद्योग असुरक्षित नभएको जिकिर गरे। उनले हवाई उडान सुरक्षित रहेको सन्देश सञ्चारमाध्यमले पुर्‍याउन आवश्यक रहेको बताए।

अध्यक्ष थापाले नेपालमा हवाई दुर्घटना हुन नदिन नियमन निकायले थप सुरक्षित अवधारणा ल्याउन जरुरी रहेको औंल्याए। उनले नेपालको हवाई उद्योग मुलुकको अर्थतन्त्रको धरोहर भएको भन्दै हवाई उद्योगले पर्यटन उद्योगलाई ठूलो टेवा पु¥याएको उल्लेख गरे।

अध्यक्ष थापाले विमान काठमाडौँ बाहिरका विमानस्थलमा पार्किङको लागि लैजानुपर्ने विषयमा नागरिक उड्डयन प्राधिकरणले बाहिरका विमानस्थलमा प्राप्त हवाई पूर्वाधार उपलब्ध गराउनुपर्ने बताए।

उनले वायु सेवा कम्पनी नेपालका सबै क्षेत्रमा हवाई सेवा पु¥याउन तयार रहेको भन्दै सरकारले त्यहीअनुसार हवाई पूर्वाधार बनाउन आवश्यक रहेको दाबी गरे।

उनले हरेक विमानस्थलमा प्राधिकरणले प्राप्त हवाई पूर्वाधार उपलब्ध गराएमा काठमाडौँभन्दा बाहिरका विमानस्थलमा हवाई कम्पनीका जहाज जान तयार रहेको बताए। अध्यक्ष थापाले काठमाडौँ विमानस्थलमा जहाज पार्किङका लागि सानो ठाउँ रहेको तर काठमाडौँ बाहिरका विमानस्थलमा पार्किङकका लागि प्राप्त पूर्वाधार नभएको बताए।

उनले भने, ‘नेपालको हवाई उडान र उद्योग धेरै सुरक्षित छ। हवाई सुरक्षा धेरै राम्रो र पाइलट अनुभवी भएको देशमा पनि हवाई दुर्घटना भएका छन्। त्यसैले नेपालको हवाई उडान उद्योग असुरक्षित छैन।’ हवाई सुरक्षित रहेको जनमानसमा सन्देश सञ्चारमाध्यमबाटै जाने उनले बताए।

उनले भने, ‘दुर्घटनालाई नजरअन्दाज गर्नुपर्छ भनेको होइन। दुर्घटना हुन नदिन हामीले नयाँ अवधारणा बनाउँदै जानुपर्छ। नेपालको हवाई उद्योग नेपालको अर्थतन्त्रको धरोहर हो। यसले पर्यटन उद्योगलाई ठूलो टेवा पुर्‍याएको छ। वायुसेवा कम्पनी नेपालका सबै क्षेत्रमा हवाई सेवा दिन तयार छ। काठमाडौँमै बस्ने कसैको रहर हुँदैन। काठमाडौँ महँगो पनि छ। सर्भिसको हिसाबले सबैतिर पुग्न खोज्छौं। वायुसेवा कम्पनी सकेसम्म बाहिरै जहाज लैजान चाहन्छ। बाहिर जानका लागि विमानस्थलमा प्राप्त पूर्वाधार जरुरी हुन्छ।’

हरेक विमानस्थलमा आफ्नो किसिमको हवाई पूर्वाधार हुन जरुरी रहेको उनले बताए। प्राधिकरणले हरेक विमानस्थलमा प्राप्त हवाई पूर्वाधार उपलब्ध गराएमा काठमाडौँभन्दा बाहिरका विमानस्थलमा हवाई कम्पनीका जहाज जान तयार रहेको उनले बताए।

उनले भने, ‘काठमाडौँ विमानस्थलमा जहाज पार्किङको लागि सानो ठाउँ छ। यहाँ सयौं विमान दिनमा उडान भइरहेको हुन्छ। हवाई ट्राफिक व्यवस्थापन आफँैमा चुनौतीपूर्ण छ। काठमाडौँ विमानस्थलको हवाई ट्राफिक दैनिक रुपमा बढ्दै छ। नियम निकायसँग वायुसेवा सञ्चालकको के माग रहन्छ भने विमानस्थलमा आवश्यक हवाई पूर्वाधार बनाइदिनुपर्छ। काठमाडौँ विमानस्थलभन्दा बाहिरका विमानस्थलमा पार्किङको लागि जान वातावरण बनाइदिनुपर्छ। धेरै कुराले काठमाडौँमा नै बस्न बाध्य बनाउँछ। विमान जहाँ सेवा सुविधा र हवाई पूर्वाधार हुन्छ त्यहाँ नै बस्न चाहन्छ।’

कार्यक्रमा संघका महासचिव मनोज कार्कीले नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका लागि ल्याएका नयाँ व्यवस्था वायुसेवा सञ्चालकको समेत सहकार्यमा ल्याएको बताए। उनले प्राधिकरणले ल्याएको नयाँ नियमले हवाई उडानलाई थप सुरक्षित र भरपर्दाे बनाउन मद्दत पुग्ने बताए।

उनले प्राधिकरणले विगतमा भएको हवाई उडान मापदण्ड असुरक्षित भएर नयाँ नियम ल्याएको भने नभएको स्पष्ट पारे। उनले प्राधिकरणको नयाँ नियम सञ्चालक संघले तत्काल पालना गर्न तयार रहेको बताए।

उनले भने, ‘नागरिक उड्डयन प्राधिकरणले हवाई उडानलाई थप सुरक्षित र भरपर्दाे बनाउन नयाँ व्यवस्था गरेको हो। तर विगतमा भएको हवाई उडान मापदण्ड असुरक्षित भएर नयाँ आएको भने होइन। विगतमा लागू भइरहेका मापदण्डहरुका कारण समस्या भए थप सुधार गर्न लागि आएको हो। नागरिक उड्डयन प्राधिकरण ल्याएका पाँच मापदण्ड वायुसेवा सञ्चालक संघ र प्राधिकरणबीच छलफल भएर आएको हो। त्यसलाई आजबाटै लागू गर्न चाहेका छौं। नयाँ मापदण्डले हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुग्ने देखिन्छ।’

त्यस्तै, नागरिक उड्डयन प्राधिकरणका निर्देशक श्यामकिशोर साहले नेपालको हवाई उडान सुरक्षित बनाउनका लागि हवाई ट्राफिक कन्टोलरलाई थप तालिमको आवश्यकता रहेको बताए। उनले प्राधिकरणले ट्राफिक कन्ट्रोलरलाई दिने तालिम कमी भएको भन्दै तालिम बढाउन आवश्यक रहेको बताए।

उनले हवाई उडानको सुरक्षित बनाउनका लागि नियमन, तालिम र टेक्नोलोजी राम्रो आवश्यक रहेको बताए। उनले नेपालको हवाई उडानमा राम्रो टेक्नोलोजी प्रयोग नियमन राम्रो रहेको बताए।

उनले भने, ‘हवाई सुरक्षामा नियमन, तालिम र टेक्नोलोजीमा भर पर्छ। नेपालमा राम्रो टेक्नोलोजी प्रयोग गरिरहेका छौं। नेपालको हवाई उडानको नियमन निकायले राम्रो काम गरिरहेको छ।’ आइकाओको प्रतिवेदनले नै नेपालको हवाई सुरक्षामा काम गरिरहेको देखाएको उनले जानकारी दिए। तालिमको पक्षमा एकदमै कमजोर रहेको उनले बताए।

उनले भने, ‘पाइलट, इन्जिनियर, ट्राफिक कन्ट्रोलर जो फ्रन्टलाइनमा काम गर्नेहरूलाई तालिमको कमी छ। त्यसमा पनि पाइलट र इन्जिनियरमा अलि बढी तालिम दिने गरे पनि हवाई ट्राफिक कन्ट्रोलरलाई कम भएको छ।’

नागरिक उड्डयन प्राधिकरणले दिने तालिममा समेत कमि आएको उनको भनाइ छ। प्राधिकरणले ट्राफिक कन्ट्रोलरलाई दिने तालिम बढाउनुपर्ने उनले बताए। उनले नेपालमा नम्बरका आधारमा विमानस्थल बढाए पनि हवाई ट्राफिक कन्ट्रोलमा जनशक्ति अभाव रहेको बताए। उनले विमानस्थल बढेसँगै हवाई ट्राफिक कन्ट्रोल पनि बढेको भन्दै काम गर्ने जनशक्ति अभाव भएको गुनासो गरे।

 

माघ २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्