बंगलादेशसँग नेपाली महिला टिम पराजित

बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको छ। ढाकामा शुक्रबार भएको खेलमा नेपाल बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको हो।

पहिलो हाफमा २-१ को अग्रता बनाएको बंगलादेशले खेलको इन्जुरी समयमा तेस्रो गोल गरेको थियो। बंगलादेशको जितमा मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले समान एक-एक गोल गरेको थियो। नेपालका लागि मनमाया दमाइले एक गोल फर्काएकी थिइन्।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा तेस्रो मिनेटमानै बंगलादेशले खातुनको गोलबाट अग्रता लिएको थियो। १३ औं मिनेटमा शम्सुनाहरले गोल गर्दै बंगलादेशलाई २-० को अग्रतामा पुर्‍याएकी थिइन। पहिलो हाफमानै खेलमा फर्कने प्रयास गरेको नेपालका लागि २४ औं मिनेटमा मनमायाले गोल गरेकी थिइन्।

त्यसपछि दोस्रो हाफमा अधिकासं समय गोलविहिन भएपनि इन्जुरी समयमा रिपाले गोल गर्दा बंगलादेश ३-१ ले विजयी भएको थियो। बंगलादेशले उद्घाटन खेलमानै ३ अंक जोड्न सफल भयो। प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। अब नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग प्रतिस्पर्धा गर्ने छ। यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्ने छ।

माघ २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्