राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन रोक्न माग गर्दै परेको रिट दरपीठ

काठमाडौँ- राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन रोक्न माग गर्दै परेको रिट सर्वोच्च प्रशासनबाट दरपीठ भएको छ।

सर्वोच्च प्रशासनले रिट दरपीठ गर्दै संविधानको धारा ६३ ले राष्ट्रपतिको र धारा ६९ ले उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने व्यवस्था गरेको र निर्वाचन आयोगले पदावधि सकिनु अगावै राष्ट्रपतिको निर्वाचन २०७९ साल फागुन २५ र उपराष्ट्रपतिको २०७९ साल चैत ३ गते गर्ने गरी निर्वाचन कार्यक्रम प्रकाशित गरेको अवस्थामा उक्त रिट दर्ता गर्न नमिल्ने उल्लेख गरेको छ।

‘आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति सम्बन्धी ऐन, २०७४ को दफा ४ र ५ को विपरीत राष्ट्रपतिको मिति २०७९/ ११ /२५ मा र उपराष्ट्रपतिको मिति २०७२/१२/०३ मा निर्वाचन गर्ने निर्णय र त्यससम्बन्धी मिति २०७९/१०/१६ मा जारी गरिएको प्रेस विज्ञप्ति र निर्वाचन कार्यतालिका समेत उत्प्रेषणको आदेशले बदर गरी राष्ट्रपति तथा उपराष्ट्रपति सम्बन्धी ऐन, २०७४ को दफा ४ र ५ मा व्यवस्थित कानूनी व्यवस्था बमोजिम निर्वाचन गर्नु गराउनु भनी परमादेश लगायत उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ भनी प्रस्तुत निवेदन लिई आएको देखियो ।….. दरपीठ गरी दिइएको छ,’ सर्वोच्चले शुक्रबार भनेको छ। सर्वोच्चका रजिष्टार नारायणप्रसाद पन्थीले उक्त आदेश गरेका हुन्।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन राष्ट्रपति निर्वाचन फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते गर्ने निर्णय गरेको छ।

माघ २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्