
काठमाडौँ – फागुन ९ गते काठमाडौंको दशरथ रंगशालामा सांगीतिक कार्यक्रम ‘नेभरल्यान्ड कन्सर्ट २०२३’ हुने भएको छ।
काठमाडौंमा शुक्रवार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिइएको हो। कन्सर्टमा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुति दिने भएका छन्।
आयोजक आइ लाइभ नेपालले ‘नेभरल्यान्ड कन्सर्ट’ गीत, संगीत मन पराउनेहरूका लागि एक अनौठो महसुस गर्ने ठाउँ बनोस् भन्ने उद्देश्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकार समेटेर आयोजना गर्न लागेको जनाएको छ।
पत्रकार सम्मेलनमा आइ लाइभ नेपालका प्रवक्ता रवीन्द्र कार्कीले कार्यक्रमले नेपालको गीत संगीतलाई माथि लैजान सहयोग पुग्ने र नेपालमा सांगीतिक पर्यटन विकासमा पनि सहयोग पु¥याउने अपेक्षा राखेको बताए। नेभरल्यान्ड कन्सर्ट नेपाली समाजमा नयाँ र प्रभावकारी हुनेमा विश्वस्त रहेको पनि बताए।
‘नेभरल्यान्ड कन्सर्ट’ अगाडि आयोजकले क्लब बिट समेत राखेको छ। रोड टु नेभरल्यान्ड नाम दिइएको यो कार्यक्रममा १७ फेब्रुअरीमा नेपाली गायक नवीन के भट्टराई र अकिल सचदेवा र १८ फेब्रुअरीमा सिक्किमका ¥यापर युएण्डबी क्लब प्लाटिनममा प्रस्तुत हुनेछन्।
ग्ल्याबो ल्होसारको अवसर पारेर आयोजना हुन लागेको ‘नेभरल्यान्ड कन्सर्ट’ को सुरक्षाका लागि ३०० बाउन्सर खटिने प्रवक्ता कार्कीले बताए। ५ सयदेखि २५ हजारसम्मको टिकट रहेको कार्यक्रमको टिकट खल्ती एपबाट काट्न सकिने उनले जानकारी दिए। नेभरल्यान्ड कन्सर्टका लागि स्टेज तथा म्युजिक सिस्टम भारतबाट मगाइएको प्रवक्ता कार्कीले बताए।