छैटाैँ प्रदेशसभा स्थापना दिवस, पाँच वर्षमा ७२ विधेयक पारित

फाइल तस्बिर।

दाङ- लुम्बिनी प्रदेशसभा छैटाैँ वर्षमा प्रवेश गरेकाे छ। २०७४ सालको निर्वाचनपछि प्रदेशसभाको पहिलो बैठक माघ २१ गते आजैको दिन बसेको थियो। जुन दिनलाई प्रदेश स्थापनाको दिन मानेर हरेक वर्ष स्थापना दिवस मनाउने गरिएको छ।

पहिलो कार्यकाल पूरा गरेर दोस्रो कार्यकालमा प्रवेश गरेको प्रदेशसभाले छैटाैँ स्थापना दिवस मनाउन थालेको हो।

राप्ती उपत्यका देउखुरी प्रदेशसभा परिसरमा औपचारिक समारोहको आयोजना गरेर प्रदेश स्थापना दिवस मनाउन थालिएको छ। प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ सदस्य रहेका छन्। दोस्रो सभामा दश राजनीतिक दल र दुई स्वतन्त्र सांसद छन्।

नेपालको नयाँ संविधानअनुसार चार तहमा सभाको व्यवस्था गरेको छ। स्थानीय सभा, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा। ती सभाहरू जनताका आवाज बोल्ने ठाउँ हुन्। कानुन बनाउनेदेखि कानुन कार्यान्वयनको अवस्थाको अनुगमन गर्नेसम्मको जिम्मेवारी छ।

प्रदेश संरचना नयाँ थियो। शून्यबाट काम सुरु गरेको लुम्बिनी प्रदेशसभाले पहिलो कार्यकाल अस्थायी मुकाममा बितायो। तर प्रदेशसभाबाट भएको निर्णय कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गरायो। फलस्वरूप स्थायी राजधानीमा प्रदेशसभाको आफ्नै संरचना स्थापना भयो।

जहाँबाट दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालन भयो। ७ वटा प्रदेशमध्ये आफ्नै प्रदेशसभा भवन निर्माण गरेर सञ्चालन गर्ने पहिलो प्रदेशको रूपमा लुम्बिनी रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।

‘सभाहल, सचिवालय, संसदीय दलका कार्यालयहरू, विषयगत समितिका कार्यालयहरूकाे राम्रोसँग व्यवस्था गरेका थियौँ। सबै प्रदेशसभाहरूमध्ये बढी विधेकहरू पारित गर्‍याैँ’, प्रदेशसभा सचिव पुनले भने, ‘७२ वटा विधेक पारित गरेका छौँ। ७ वटा विधेक विचाराधीन अवस्थामा थियो। तर दोस्रो प्रदेशसभाको कार्यकाल सुरु भएको हुनाले संविधानअनुसार ती विधेयक निष्क्रिय भएका छन्। निष्क्रिय भएको बारेमा प्रदेश सरकारलाई जानकारी गराइसकेका छौँ।’

निष्क्रिय भएका विधेयकहरू सरकारले पुनः दर्ताको तयारी गर्ने छ। कानुन निर्माण र सरकारको निगरानीमा प्रदेशसभा अगाडि रहेको दावी सचिव पुनले गरे। तर संसदबाट बनेका कानुनहरू कार्यान्वयन भए नभएको बारेमा अध्ययन गर्न आग्रह समेत गरे।

‘प्रदेशसभा कानुन बनाउने थलो हो। यहाँबाट बनेका कानुनहरू कत्तिको कार्यान्वयन भएका छन् या भएका छैनन् यस बारेमा अध्ययन समेत गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘यसका लागी सबै क्षेत्रबाट अध्ययन गरेर कानुन कार्यान्वयनको वातावरण बनाउन समेत ध्यान दिनुपर्ने हुन्छ।’

सबैभन्दा महत्त्वपूर्ण प्रदेश संरचना:सभामुख

सभामुख तुलाराम घर्तीले संघीय शासन प्रणालीमा सबैभन्दा महत्त्वपूर्ण प्रदेश संरचना रहेको बताएका छन्। प्रदेशलाई स्थापित गर्ने र यसको अनुभूति जनस्तरमा हुने गरी काम गर्ने जिम्मेवारी थपिएको बताएका हुन्। अबको पाँच वर्ष जनताको बोली बोल्ने, सदनको नेतृत्व गरेर फरक अनुभूति दिलाउने दृढता व्यक्त गरे।

‘प्रदेश संरचना नितान्त शून्यबाट सुरु भयो। कानुन थिएनन्, कुनै संरचना थिएनन्। यी कुराको बावजुत पनि लुम्बिनी प्रदेशसभालाई स्थापित गर्‍याैँ, कानुन बनायौँ, आफ्नै संरचना खडा गर्‍याैँ’, उनले भने, ‘अबको पाँच वर्ष जनताको पक्षमा सानदार रूपमा सदन सञ्चालन गर्छौँ, फरक अनुभूति दिलाउँछौँ।’

अब समृद्ध प्रदेशको अभियानः मुख्यमन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पाँच वर्षको अवधिमा विकासको खाका तयार पार्न सफल भएको बताएका छन्। प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री गिरीले पाँच वर्षको अवधिमा प्रदेशको नाम र राजधानी तोक्ने, त्यसलाई कार्यान्वयन गर्नेजस्ता महत्त्वपूर्ण काम गरेको बताए।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी।

‘अबको पाँच वर्ष प्रदेशका जनताको जीवनस्तरमा सुधार आउनेगरी काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी अघि बढेका छौँ’, उनले भने, ‘प्रदेश सिंहदरबारको अधिकार तपाईं हाम्रो घरदैलोमा आइपुगेको छ। जनताको नजिकको सरकार प्रदेश हो भन्ने महसुस गर्नुपर्छ। पाँच वर्षको लामो अनुभवपछि अबको पाँच वर्ष काम गर्ने ऊर्जा प्राप्त भएको छ।’

छैटाैँ प्रदेश स्थापनाको अवसरमा मुख्यमन्त्री गिरीले सबैमा शुभकामनासमेत व्यक्त गरे।

माघ २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्