प्रदेश सञ्चार प्रतिष्ठान ब्युँताइनेछः मुख्यमन्त्री कार्की

झापा – प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले यस अघिको सरकारले खारेज गरेको सञ्चार प्रतिष्ठान ब्युँताउने बताएका छन्।
प्रेस चौतारी झापाको २५ औं स्थापना दिवसका अवसरमा प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा कानुन बनाएर उक्त प्रतिष्ठान ब्युँताउने बताएका हुन्।
सञ्चार जगत तथा पत्रकारहरूका हकहितका कामका लागि प्रदेशमा सञ्चार प्रतिष्ठान आवश्यक रहेको उनले बताए।
उनले भने, ‘म आन्तरिक मामिला मन्त्री हुँदा नियमावली तथा निर्देशिकाको माध्यमबाट काम अघि बढाएका थियौं। म आउनु भन्दा अघिको सरकारले त्यस्लाई खारेज गर्यो। अब कानुन बनाएरै उक्त प्रतिष्ठानलाई ब्युँताउने छौं।’
प्रतिष्ठान स्थापना भएपश्चात पत्रकारिता क्षेत्रको विकास र सुदृढीकरणमा टेवा पुग्ने मुख्यमन्त्री कार्कीले बताए।
पत्रकारिता पेशालाई इमान्दार र मर्यादित बनाउने कुरामा आफ्नोतर्फबाट सक्दो सहयोग हुने उनले प्रतिबद्धता व्यक्त गरे।
पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकारले के गर्नुपर्छ, त्यस्का लागि सुझाव दिन पत्रकारहरूसंग मुख्मन्त्री कार्कीले आग्रह गरे।
अर्को प्रसंगमा उनले प्रदेशको नामाकरण चाँडै गरिने बताए। सम्भव भए सहमतिका आधारमा नभए संविधान तथा कानुनले अधिकार प्रयोग गर्दै बहुमतका आधारमा प्रदेशको नाम राखिने मुख्यमन्त्री कार्कीको भनाइ छ।
अग्रज पत्रकार सम्मानित
२५ औं स्थापना दिवसका अवसरमा प्रेस चौतारी झापाले झापाका चार जना अग्रज पत्रकारलाई अभिनन्दन तथा सम्मान गरेको छ।
प्रेस चौतारी झापाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गरिएको कार्यक्रममा झापाका अग्रज पत्रकारहरू नकुल काजी, गोविन्दचन्द क्षेत्री, केशव आचार्य तथा माधव विद्रोहीलाई सम्मान गरिएको हो।
कार्यक्रममा दिवंगत पत्रकार माया पकुवाललाई मरणोपरान्त सम्मान गरिएको थियो।