लेखक तथा पत्रकार दामोदर न्यौपाने भन्छन्ः

‘घरको शिक्षाले अपेक्षा गरेभन्दा धेरै पाठक पाउँदा उत्साहित छु’

काठमाडौँ – पत्रकार दामोदर न्यौपानेले आफ्नो नवौँ कृति ‘घरको शिक्षा’ले अपेक्षा गरेभन्दा धेरै पाठक पाएको बताएका छन्।

नवौँ कृतिसम्म आइपुग्दा आफूलाई पुस्तक लेखनदेखि बजारसम्म पुर्‍याउने प्रक्रियामा सिकाइको दायरा बढेको भन्दै त्योसँगै पाठक पनि बढेको उनले बताए। अघिल्लो हप्ता राजधानीमा लोर्कापण गरिएको ‘घरको शिक्षा’ एक हप्तामा राम्रो बिक्री भएको र पाठक पनि अपेक्षा गरेभन्दा धेरै भेटेको उनको भनाइ छ।

शिखा प्रकाशनद्वारा प्रकाशित कृति ‘घरको शिक्षा’ एक हप्तामा करिब एक हजार प्रति बिक्री भएको न्यौपाने बताउँछन्। न्यौपानेको बालबालिका, शिक्षा सिकाइ केन्द्रित लेखनको नयाँ श्रृङखला हो ‘घरको शिक्षा’ अर्थात संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ।

पुस्तकमा संस्कारयुक्त व्यवहार, बालबालिका लालनपालनका मनोवैज्ञानिक विधि र सिकाइ शैलीका सुत्र पाइन्छन्। देश सञ्चारसँग कुरा गर्दै लेखक न्यौपानेले भने,‘पुस्तक लोर्कापणपछि कति बिक्री हुन्छ अथवा कति पाठकले पढ्छन् भन्ने मलाई तनावको विषय थिएन। तर यो घरघरमा पुगेर बहस हुनुपर्छ भन्ने मेरो मान्यता थियो। यसको लागि म आफै अभियान चलाउने योजनामा थिएँ तर मैले अभियान नचलाउँदा पनि मेरा शुभेच्छुकहरुले चासो दिनुभयो, यो खुसीको कुरा हो।’

उत्पादनमूखी र व्यवहारिक शिक्षाको लागि बालबालिका र शिक्षा क्षेत्रमा सरोकार राख्ने सबैको लागि घरको शिक्षा उपयोगी रहेको लेखक बताउँछन्। पुस्तकका लक्षित वर्गहरु शिक्षक, अभिभावक, नीति निर्माता र विद्यार्थीहरु हुन्।

अनुसन्धान र तथ्यांकमा आधारित भएर लेखिएको कारण कोरा साहित्य मात्रै भन्दा धेरै ज्ञानवर्द्धक हुने लेखक बताउँछन्। कृति कोरोना सङ्क्रमणको जोखिमका कारण विद्यालय बन्द हुँदा घर सबैभन्दा सुरक्षित स्थान भए पनि बालबालिकालाई सिकाइ र संस्कारसँग जोड्न नसक्दा हुनसक्ने सम्भावित घटना दोहरिन नदिन अभिभावक चनाखो हुनुपर्ने विषयमा केन्द्रित छ।

बालबालिकाको संस्कारयुक्त मनोविज्ञान, सूचना, प्रविधि, धर्म र संस्कारको पनि मिश्रण पाइन्छ। बालमनोविज्ञानलाई नबुझेर अभिभावकले आफ्नो इच्छामा चल्न सिकाउने प्रवृत्ति बढिरहेको समयमा पुस्तकले विभिन्न सिद्धान्त, दर्शन, सञ्चार, प्रविधि, संस्कार, पूजापाठका माध्यमबाट पनि किताबको ज्ञानभन्दा धेरै शिक्षा हासिल गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेको छ।

किताबको अध्ययनभन्दा सूचना र प्रविधिको ज्ञानले बालबालिका व्यक्तित्व विकास र प्रस्तुतिमा निखार ल्याउने मात्र नभइ निडर र प्रखर तुल्याउने पुस्तकका पात्र हार्दिकबाट उजागर गर्न खोजिएको छ। यो कृतिसम्म आइपुग्दा बालबालिका के चाहँदा रहेछन् भन्नेबारे लेखक न्यौपानेको बुझाइ फराकिलो भएको छ।

उनी भन्छन्, ‘बालबालिकाप्रतिको बुझाइ सम्बृद्ध बन्दै गएको छ।’ पुस्तक लेखनमा न्यौपानेले आफ्नै धार सृजना गरेका छन्। समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर न्यौपाने खासगरी द्वन्द्व, सामाजिक, साँस्कृतिक, शिक्षा, बालबालिका, बालमनोविज्ञान, सिकाइ, बालव्यवहार, मनोसामाजिक विश्लेषण र समसामयिक विषयवस्तुमा दख्खल राख्छन्।

दुई दशकदेखि कान्तिपुर दैनिकमा क्रियाशील न्यौपाने बालकेन्द्रित पत्रिका कोपिलाको पूर्वसम्पादक हुन्। सशस्त्र युद्धको बेला राज्य र विद्रोही पक्षले दिएको तनावको परवाह नगरी कार्यक्षेत्रमा डटेकाले अन्तर्राष्ट्रिय प्रेस इन्स्टिच्युट र फ्रिडम फोरमबाट साहसी सम्वाददाता सम्मान, पत्रकार महासंघबाट श्रीधर आचार्य राष्ट्रिय पत्रकारिता पुरस्कारलगायत दर्जनौँ सम्मान तथा पुरस्कार पाएका छन्।

एम्बुसमा ६ वर्ष, कर्मः सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट शो, स्वर्णिम समय, स्कूल बेच्ने बालक, हाडको डोको, सम्पदा लडाइँ, दासप्रथाको नयाँ रुप कृति लेखेका छन्। सम्पदा संरक्षण, बालमैत्री व्यवहार र अभिभावक शिक्षाका परामर्शदाता तथा अभियन्ता हुन्।
घरको शिक्षा उदेश्यमूलक लेखन हो।

लेखक न्यौपाने भन्छन्,‘घरको शिक्षा उत्तर बाल्यावस्थाको सिकाइमा केन्द्रित छ। यो भन्दा अघिल्लो कृति स्कूल बेच्ने बालक प्रारम्भिक बाल्यावस्थामा केन्द्रित थियो आगामी दिनमा किशोरअवस्थाको विषयवस्तु समेट्ने प्रयास गर्नेछु।’

कृति लोर्कापण गर्ने समय एक हजार प्रति प्रकाशन गरिएको थियो भने अब दोस्रो चरणमा फेरि प्रकाशन गरिँदैछ। घरको शिक्षा पटक–पटक गरी करिब १० हजारप्रति पुस्तक छाप्ने तयारी छ।

‘लेखकलाई ठ्याक्कै कति बिक्री भयो भन्ने थाहा त हुँदैन, म खोज्दा पनि खोज्दिनँ तर करिब एक हजार बिक्री भएको छ। म उत्साहित छु,’ उनी सुनाउँछन्, ‘अब चरण चरणमा गरेर पुस्तक छपाइँको काम हुँदैछ।’

यसअघिका केही पुस्तक स्कूलका बालबालिकालाई पाठ्यक्रममा समेत समावेश गराएका पढाएको स्मरण गर्दै न्यौपानेले भने, ‘घरको शिक्षा पनि ज्यादै उपयोगी छ।’

माघ २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्