मेसीको निर्णायक गोलमा पिएसजी विजयी

फ्रेन्च लिग वानमा लियोनेल मेसीले निर्णायक गोल गरेपछि पिएसजीले टुलुजलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा अग्रता बढाएको छ। एक गोलले पछि परेको अवस्था उल्टाउँदै पिएसजीले जित निकालेको हो।

पहिलो हाफमा ब्रान्को भान डेन बुमेनको गोलमार्फत टुलुजले खेलमा अग्रता बनाएको थियो। २० औ मिनेटमानै अग्रता बनाएपनि पहिलो हाफमानै पिएसजी खेलमा फर्कियो। असरफ हाकीमीको गोलमार्फत पिएसजी खेलमा फर्किएको थियो। उनले कार्लोस सोलेरको पासलाई ३८ औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। पहिलो हाफ १-१ गोलको बराबरी भएको खेलमा दोस्रो हाफमा पिएसजीले मेसीको गोलमार्फत अग्रता बनाएको थियो। हाकिमीको पासमा मेसीले ५८ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो।

खेल अवधिभर गोलका सुन्दर मौकाहरु बनाएपनि पिएसजीले थप गोल गर्न सकेन। अतिरिक्त समयमा मेसीले गरेको आकर्षक प्रहार पोलमा लागेर बाहिरिंदा मेसी सम्भावित दुई गोलबाट चुकेका थिए। जितपछि पिएसजीले २२ खेलबाट ५४ अङ्क बनाएर शीर्ष स्थानमा ८ अङ्कको अग्रता बनाएको छ। एक खेल कम खेलेको मार्सेली ४६ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ।

माघ २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्