आफूलाई ‘स्वतः विजयी घोषित’ गर्न माग राख्न निर्वाचन आयोग जाँदै उमेश श्रेष्ठ

फाइल तस्बिर।

काठमाडाैँ – चितवन- २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेको सांसद् पद खारेजीपछि आफूलाई ‘स्वतः विजयी’ घोषित गर्नुपर्ने माग राख्न उनका निकटतम प्रतिष्पर्धी उमेश श्रेष्ठको आइतबार निर्वाचन आयाेग जाँदैछन्।

सर्वाेच्च अदातलले यही माघ १३ गते शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानेकाे नागरिकता अवैध भएकाे फैसला गरेकाे थियाे।

सर्वाेच्चकाे फैसलापछि पद तथा जिम्मेवारीबाट अलग्गिएका लामिछानेसँग भारी मतले पराजित भएका श्रेष्ठ आयाेगमा निवेदन दिन जान लागेका हुन्।

चितवन- २ मा उप-निर्वाचनकाे चर्चा चलिरहे पनि यसकाे लागि समय लाग्ने भएकाले यतिबेला साे क्षेत्र सांसदविहीन छ।

तत्कालीन सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार भएको श्रेष्ठ झण्डै ३५ हजार मतले रास्वपा सभापति लामिछानेसँग पराजित भएका थिए।

लामिछानेको पद खारेजीपछि दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने माग गर्दै उनले आज निर्वाचन आयोगमा निवेदन दिने तयारी थालेका हुन्।

उनले दिउँसो २ बजे पत्रकार सम्मेलनसमेत आयोजना गर्ने बताएका छन्।

माघ २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्