हुम्लामा खाद्यान्न ढुवानी सुस्त

सिमकोट – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटडले ढुवानी अनुदानमा उपलब्ध गराएको खाद्यान्न ढुवानीमा ढिलाइ भएको छ। ढुवानीको जिम्मा पाएका निजी एयरलाइन्स र सप्लायर्सका कारण खाद्यान्न ढुवानी सुस्त भएको हो।

लिमिटेडका सिमकोट शाखाका निमित्त कार्यालय प्रमुख नवीन आचार्यले आथिर्क वर्ष सुरु भएको सात महिना पुगे पनि खाद्यान्न ढुवानी सुस्त गतिमा भइरहेको बताए।

हवाई मार्गबाट ढुवानीको जिम्मा पाएका निजी एयरलाइन्स र पैदल मार्गबाट ढुवानीको जिम्मा पाएका सप्लायर्सहरुको लापरबाहीका कारण खाद्यान्न बेलैमा जिल्ला आइनपुगेको आचार्यको भनाइ छ।

यस वर्ष हवाई तथा पैदल मार्गबाट खाद्य कम्पनीको हुम्ला शाखाका लागि १२ हजार क्वीन्टल खाद्यान्न व्यवस्था गरिएको छ। तर हालसम्म पैदल तथा हवाई मार्गबाट ५ हजार ४४५.८० क्वीन्टल खाद्यन्न मात्र ढुवानी भएको छ। यसमा सुर्खेतबाट हवाई मार्ग हुँदै ६ हजार क्वीन्टल खाद्यान्न ढुवानीको जिम्मा समिट एयरले पाएकोमा हालसम्म ३ हजार ८७२.२० क्वीन्टल ढुवानी गरेको छ।

यस्तै, नेपालगञ्जदेखि २ हजार क्वीन्टल तारा एयरले ढुवानीको जिम्मा पाएकोमा हालसम्म एक हजार ४६३.३० क्वीन्टल मात्रै आइपुगेको छ।

त्यसैगरि पैदल मार्गबाट ४ हजार क्वीन्टल खाद्यन्न ढुवानीको व्यवस्था भए पनि राजापुरबाट ६०.९० र सुर्खेतबाट ४१.४० क्वीन्टल खाद्यन्न ढुवानी भएको छ।

हवाई मार्गको खाद्यन्न समिट र तारा एयरले दैनिक दुई–तीन उडानबाट ढुवानी गर्ने गरेका छन्। पैदल मार्गको खाद्यान्न भने निकै सुस्त गतिमा खच्चडमा ढुवानी गरेर ल्याउने गरिएको छ। गतवर्ष यो अवधिसम्म ९० प्रतिशत खाद्यान्न ढुवानी भइसकेको थियो।

माघ २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्