रवि लामिछानेको सत्तारोहण र बहिर्गमन, गुमनाम अरनिको पाँडे: राजनीतिका दुई यथार्थ

माघ दोस्रो हप्ता  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रकरण आम चर्चाको बिषय रह्यो। सडकदेखि सामाजिक सञ्जाल, चिया पसलदेखि सार्वजनिक यातायात,  सार्वजनिक स्थलहरु लामिछाने चर्चाको उत्कर्षमा थिए। यो हुनु अस्वाभाविक पनि होइन। राजनीतिका सबै उपलब्ध  रणनीति  र हतियारका भाषाहरु प्रयोग भइ नै रहेका छन्।  घुर्की, धम्की र मोलमोलाइबीच गठबन्धन राजनीति  अघि बढिरहेको छ। टेलिभिजनको स्टुडियोबाट पर्दामा प्रशारण हुनुअघिको काउण्टिङ चलिरहेको छ- १०, ९, ८, ७, ६, ५, ….। हेर्नु छ पर्दामा को झुल्किन्छ! रविका समर्थकको अहिलेको कौतुहल यही हो।

सस्ता जनप्रिय नाराहरु उचालेर तीन दशकदेखि किला गाडेर बसेका प्रमुख  राजनीतिक दलका नेताहरू पराजित गर्दै निर्वाचन जितेर आएका लामिछानेप्रति उनका मतदाताहरुको मानवीय र संवेदनशील समर्थन व्यक्त हुनु अस्वाभाविक पनि होइन। तर राजनीतिको यथार्थमा यस्ता भावना, प्रेम, सदाशयताको कुनै महत्व नहुनु राजनीतिको स्वाभाविक चरित्र हो।

लामिछाने  विगत दुई महिनामा गृह मन्त्रालय र उपप्रधानमन्त्री पदारोहण , अदालतको आदेश पछि बहिर्गमन अनि नागरिकताको प्रमाणपत्र प्राप्त पछिको घटनाले राजनीति कति निर्दर्यी, अस्थिर र यथार्थपरक हुन्छ भन्ने स्पष्ट संकेत दिँदै थियो। यो प्रकरणमा समय मात्र बलवान थियो अरु सबै निरीह र लाचार। न राजनीति रविको धम्कीले बिच्कियो, न जनताको अनुनय विनयले झुक्यो । तर, यो नै पहिलो घटना थिएन र रहने पनि छैन। राजनीतिको आफ्नै गति, चरित्र र बाटो हुन्छ।

दया, माया, प्रेम सद्भाव, नाता, सम्बन्ध भन्ने कुरा सत्ता राजनीतिले चिन्दैन। यसमा न कुनै स्थायी सत्रु हुन्छ, न स्थायी मित्र। त्यसैले राजनीति व्यवहारिक र यथार्थपरक ढंगले चल्छ। यसो नहुँदो हो त एक अर्कोको चरम सत्रु केपी शर्मा ओली र पुष्पकमल दाहाल एकै रातमा गठबन्धनमा जोडिने थिएनन्। त्यो पनि निर्वाचनको बेला धारेहात लगाएर तीन पुस्तालाई निकृष्ट भाषामा सराप्ने रवि लामिछानेको पनि साथ लिएर शेरबहादुर देउवासँगको सुमधुर लगनगाँठो फुस्काउने थिएनन्।

नवगठित  स्वतन्त्र पार्टीको कुरा गर्ने हो भने पनि पार्टीका प्रमुख संस्थापक वैज्ञानिक र विद्वान अरनिको पाँडे एक वर्षमा नै राजनीतिबाट  गुमनाम बन्न पुगेका छन्।  डाक्टर तोसिमा कार्की र रवि लामिछाने सत्ताको तामझाममा रमाइरहँदा यी पाँडे अहिले सामाजिक सञ्जालको प्रतिक्रियामा सीमित छन्। हास्य व्यंग्यकार रामकुमार पाँडेका भतिजा अनि जराजुरी पुरस्कारका संस्थापक कृष्णकुमार पाँडेका सुपुत्र अरनिको पाँडेको न कसैले खोजी गरेको छ, न चाहना । यही हो राजनीतिक यथार्थ। लामिछाने र स्वतन्त्र  पार्टी राजनीति र समाजको  चर्चाको शिखरमा छ तर धेरैलाई थाहासमेत छैन, अरनिको पाँडे स्वतन्त्र पार्टीको एक संस्थापक हुन् भनेर। लामिछाने चौतर्फी रुपमा चम्किँदा वैज्ञानिक पाँडे अहिले गुमनाम छन्।

राजनीति निर्दयी नै हुन्छ। रवि लामिछाने अमेरिकामा पलायन हुँदा  नेपाली कांग्रेसका युवा नेताहरु  नारायणप्रसाद साउद र गगन थापाले राजनीतिमा खुट्टा जमाई सकेका थिए । तर रवि आज राजनीतिको केन्द्रमा यी दुवैलाई ग्रहण लगाएर बसेको यथार्थ हो।  नेपाली कांग्रेसमा सुदुर पश्चिमका सौम्य युवा नेता  साउद उनीभन्दा कनिष्ठ गगन थापाको छायाँमा परेका छन्। साउदकै नेता देउवाको छनौटमा पनि थापा परे भने अस्वभाविक नमाने हुन्छ।

चाणक्य, महाभारत कालिन धृतराष्ट्र, पाश्चात्य  दार्शनिकहरु प्लेटो, सोक्रेटस अनि म्यकभेली अझ लेनिनसम्मले  राजनीति कति अवसरबादी, निर्दयी र विश्वासघाती हुन्छ, यथेष्ट वर्णन गरेका छन्। सप्ताह पुराण, महाभारत, रामायण  ग्रन्थको माध्यमबाट घरघरमा सुनिएको भनिएको अनि अध्ययनको क्रममा शिक्षालयमा राजनीतिका विद्वानहरुको भनाइ पढेकै हो। नेपालको इतिहासको  लिच्छिवी काल, मल्ल काल, शाह काल र राणा काल, प्रजातन्त्र काल, अनि लोकतान्त्रिक कालका बेला मा पनि धेरै असम्भव मानिने घटनाहरु नभएका होइनन्। तर त्यस्ता घटनाले सर्वसाधारणको मानसपटलमा लामो प्रभाब जमाउन सकेनन्। अरु बेलामा जस्तै रवि प्रकरणमा पनि क्षणिक आवेगले नै जनताको मत निर्दिष्ट गर्‍यो। जनतालाई सुसुचित गर्नुपर्नेहरुले पनि क्षणिक घटना र मानवीय संवेदनशीलतालाई नै प्राथमिकता दिए।

अधिकांश नेपाली राजनीतिको चलखेल, त्यसमा आउने उथलपुथल र नयाँ खेलाडीहरुको उदय र अवसानलाई भावनात्मक रुपमा लिन्छन्। रवि लामिछाने प्रकरणमा व्यक्त भावनाहरुले यस्तै दृष्टिकोणहरु प्रतिबिम्ब गर्छन्।  हुन त नेपाली कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराई संसद भवनबाट धुरुधुरु रुँदै निक्लेको अनि गिरिजाप्रसाद कोइरालाले पदभार ग्रहणपछि शेरबहादुर देउवाले विस्थापन आदि इत्यादि घटना धेरैले अनुभव गरेकै हो। पाटन बजारमा लाखौँ जनताको निर्बाध स्वागत पाएका राजा ज्ञानेन्द्र छ महिनाकै बीचमा त्यहीँ बाट उठेको गणतन्त्रको नाराले बिस्थापित हुन पुगेको घटना राजनीतिमा नघटेको होइन। नेपालको राजनीतिमा सर्वशक्तिमान ठहरिएका गिरिजा प्रसाद कोइरालाको गुमनाम बहिर्गमन अनौठो रहेन।

सनातनी  दार्शनिक विद्वान  बिष्णु गुप्त चाणक्य हुन् कि पश्चिमी दार्शनिक विद्वान  मेकाभेली हुन्, अझ अगाडि जाँदा महाभारतकालका धृतराष्ट्र हुन् कि ग्रिक दार्शनिक प्लेटोका गुरु सोक्रेटस।  राजनीतिका उथलपुथल र सत्ताको कुरा गर्दा समान धारणा छ। त्यो हो राजनीति भनेको भावनात्मक रुपमा खेलिने खेल होइन। यसमा क्रुरता, छलकपट, कुटनीति, हिंसा, शान्ति जे पनि जायज हुन्छ। राजनीतिमा अन्याय र न्याय भन्ने कुरा नै हुँदैन। सत्ता र शक्तिमा सबै जायज हुन्छ।

नेपाल कम्युनिष्ट पार्टी एमालेलाई दशकौँ  एक छत्र सञ्चालन गरेका माधबकुमार नेपाल अहिले सानो समूहमा खुम्चनु र अघिल्लो पटक नराम्रोसँग सत्ताबाट विस्थापित केपी शर्मा ओली पुन: प्रचण्डलाई सत्तामा पुर्‍याउन मियो बन्नु न त्यो कांग्रेसी नेता शेरबहादुर देउवाको अहिले चर्चा भएजस्तो असफल रणनीतिको कारण थियो। राजनीतिमा पराजयपछि थाकेर नवगणतन्त्रवादी बनेका  कमल थापा र उनलाई बिस्थापित गरी उपप्रधानमन्त्री भएका राजेन्द्र लिङ्देनले राजतन्त्र स्थापना गर्छु भनेर जति उचालिए पनि अरुको कुरा नगरौं तर राजा ज्ञानेन्द्रले त्यो विश्वास गर्छन् भनेर पत्याउने आधार आएको छैन।  कमल थापाले हिजो राजतन्त्र आउँछ भनेर विश्वास गरे अहिले गणतन्त्रको विकल्प छैन भनेर। त्यो थापाको विश्वास हो। हिजो कमल थापालाई राजावादी भन्दै गाली गर्ने गणतन्त्रवादीहरु अहिले थापालाई ताली मार्छन। लिङ्देन अहिले गाली खानेमा छन्, भोलि ताली खानेमा नपुग्लान् भन्ने पनि छैन। तर राजा ज्ञानेन्द्रले यो सत्ता राजनीतिका अवसरबादी चरित्रहरू राम्ररी बुझेका छन्, त्यसैले चुपचाप छन्।

राजतन्त्रकालमा  हुर्किएर कर्मचारीतन्त्रमा सचिव बनेका  डाक्टर देबेन्द्रराज पाण्डे ज्यादै विद्वान हुन्। सूर्यबहादुर थापासँगको विमतिपछि जागिर छाडेर  प्रखर  गणतन्त्रबादी बनेका पाण्डे कुनै बेला  कमल थापाले राजतन्त्र आफूले थामेको भन्ने भ्रम पालेजस्तो अहिले  डाक्टर पाण्डेमा गणतन्त्र आफैँले थामेको भन्ने भ्रम  देखिनु पनि अस्वाभाविक होइन।

रवि लामिछानेजसरी रातको रात चमत्कारी बाबाजस्तै उप प्रधान र गृह मन्त्री भए, अनि एकै रातमा देशबिहीन बने, फेरि नागरिक र गृह मन्त्रालय र पदको दाबीसहित सार्बजनिक रुपमा आए। भावनात्मक रुपमा लामिछानेको पछि हजारौँ ओइरिएका छन्। तर राजनीतिक यथार्थ फरक छ। र क्रुर पनि। भावनात्मक रुपमा उनको समर्थन गर्नेहरुलाई बोक्दै रबवि सरकार छोड्ने दिन तोक्दै अगाडि बढ्दै जाँदा राजनीतिले उनलाई पछाडि पार्दै अघि बढेको छ। राजनीति निर्दयी नहुँदो हो त गिरिजाप्रसाद कोइरालाले आफ्नी पुत्री सुजातालाई आफू सत्तामा रहँदै उत्तराधिकारी बनाउन सक्थे। सरसर्ती हेर्दा धेरै क्षेत्रमा दमननाथ ढुंगाना नेपाली कांग्रेसको राजनीतिमा शेरबहादुर देउवा, सुशील कोइरालाभन्दा बौद्धिकता र पढाइलेखाइमा अगाडि थिए। तर, देउवा र कोइरालाले सत्ता राजनीतिमा पालो पाए, ढुंगाना सत्ता  राजनीतिमा पछाडि छाडिए।

सिपी मैनाली र राधाकृष्ण मैनाली एमालेका काबिल र लगानीका हिसाबमा अघि नेता भए पनि ओली र नेपालको जोडीसँग टिक्न सकेनन् र अहिले झन्डै राजनीतिक परिदृश्यबाट टाढा पुगिसके। पुष्पकमल दाहालको अगाडि माओवादी नेता मोहन वैद्यको अस्तित्व एउटा झुण्डमा सीमित भएको छ। विद्वान डाक्टर बाबुराम भट्टराई फेरि राजनीतिमा टिकिरहन प्रचण्डको फेरो समाउन पुगेका छन्। जनताको व्यापक सर्मथन रहेका लामिछाने अहिले फेरि ओलीको फेरो समातेर मन्त्रीमण्डलमा फर्कने तयारीमा छन्। तर राजनीति न सर्वसाधारण नेपालीको भावनामा बग्छ, न रवि लामिछानेको चाहनामा। यो यति निर्दयी छ कि यसले रविलाई रछ्यानमा पनि पुर्‍याउन सक्छ। राहदानी प्रकरणको तरबार उनको टाउको माथि छ। चितवन जिल्लाका उनकै सभापतिले  राजिनामा दिँदा दिएको वक्तव्यले केही संकेत गर्छ।

राजा महेन्द्रले एकपटक बिपी कोइरालालाई भन्नु भए छ- हेर्नुस् बिपी,  यो राजनीति पनि कति निर्दयी हुँदो रहेछ। परस्पर व्यक्तिगत रुपमा घनिष्ठ भएर पनि दुई विपरीत कित्तामा पुगिँदो रहेछ। राजा महेन्द्रको यो भनाइले  प्रष्ट भन्छ, राजनीति भावनामा होइन, यथार्थमा आधारित हुन्छ। नेपालमा पनि अनगिन्ती घटना र दुर्घटना हेरेका नेपालीहरु यसको यथार्थ पक्ष बिर्सेर फेरि त्यही भावनामा आधारित रहेर राजनीति विश्लेषण गर्छन् अनि प्रतिक्रिया दिन्छन्। त्यस्ता प्रतिक्रिया यथार्थभन्दा धेरै टाढा हुन्छन् अनि राजनीति र राजनीतिज्ञप्रति वितृष्णा जन्माउन पुग्छन्। सत्तामा पुग्नु अघिको देव सत्ता आरोहणपछि दानव बन्न पुग्छ। काठमाडौँ महानगर पालिकाका मेयर बालेन शाह पनि देव थिए। सत्ताले उनलाई बिस्तारै दानवीकरण गर्दै छ।

बिपी कोइराला सत्ता राजनीतिमा छोटो समय मात्र रहे।  तर उनकै भाइ गिरिजाप्रसाद कोइराला राजतन्त्रदेखि गणतन्त्रसम्म सम्म निर्बिघ्न  सत्तामा रहे। गिरिजाका लागि राजनीति आदर्श होइन,  सत्ताको दाउ र मोलमोलाइ राजनीतिको जुवा रह्यो। सत्ता जुवामा गिरिजाले आफ्ना निकटतम  सहकर्मीहरु, परिवारका सदस्य सबै चढाए, आफू सत्ताको शिखरमा रहे।  खुमबहादुर खड्का, गोविन्दराज जोशीमात्र होइन, सर्वमान्य नेता गणेशमान सिंहसम्मलाई बलि चढाए। सन्तनेता कृष्णप्रसाद  भट्टराई पाखा नै लागे। कोइरालाले सत्ता स्वार्थको अगाडि सबै त्यागे, आफ्नै परिवार पनि। त्यसैले होला, उनका भतिजा डाक्टर शेखर कोइरालाले आफू कोइरालावादबाट होइन, आफ्नो बुतामा राजनीति गर्ने घोषणा नै गरे।

सनातनी  दार्शनिक विद्वान  बिष्णु गुप्त चाणक्य हुन् कि पश्चिमी दार्शनिक विद्वान  मेकाभेली हुन्, अझ अगाडि जाँदा महाभारतकालका धृतराष्ट्र हुन् कि ग्रिक दार्शनिक प्लेटोका गुरु सोक्रेटस।  राजनीतिका उथलपुथल र सत्ताको कुरा गर्दा समान धारणा छ। त्यो हो राजनीति भनेको भावनात्मक रुपमा खेलिने खेल होइन। यसमा क्रुरता, छलकपट, कुटनीति, हिंसा, शान्ति जे पनि जायज हुन्छ। राजनीतिमा अन्याय र न्याय भन्ने कुरा नै हुँदैन। सत्ता र शक्तिमा सबै जायज हुन्छ। रवि लामिछाने प्रकरणमा मात्र होइन, विगत दुई सय वर्षको नेपालको राजनीतिमा हेर्ने हो भने पनि छल, कपट, क्रुरता, हत्या, हिंसा सत्ता प्राप्तिका लागि जायज ठानिएको छ।  बुद्धिजिबी, विद्वानहरु पनि यसैतिर निर्दिष्ट छन्। इतिहास सबैको लागि साक्षी छ।

(पौडेल अंग्रेजी पाक्षिकक न्यु स्पटलाइटका सम्पादक हुन्।)

माघ २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्