नेपाली फुटबलरका लागि कसरी बन्दैछ अस्ट्रेलिया ‘हब’?

शहीद स्मारक ए डिभिजन लिग। फाइल फोटो।

काठमाडाैँ – धेरै लामो समय भएको छैन। नेपाली फुटबलरको ‘डरलाग्दो पलायन’ श्रृंखला सुरु भएको। केही फुटबलर नियमित टिममा पर्न छाडेपछि या क्लब फुटबलमा मात्रै सीमित हुँदै गएपछि थौरै मात्रामा विदेशिने श्रृंखला थियो केही वर्ष अघिसम्म। पछिल्लो समय विदेशिने खेलाडी अधिकांश उम्दा करिअरकै बीचमा बाहिरिरहेका छन्।

उमेर समूहदेखि राष्ट्रिय टिमका समेत नियमित सदस्यहरुको अहिलेको प्रमुख गन्तब्य बनेको छ ‘अस्ट्रेलिया’। त्यसो त खेलाडीबाहेक विद्यार्थीको हकमा समेत पहिलो रोजाइ बन्दै आएको अस्ट्रेलियामा पछिल्लो समय नेपालीको बाक्लो उपस्थितिले अनेकन व्यवसायमा नेपाली नै संलग्न रहन थालेका छन्। त्यस्तोमा नेपालीको प्राथमिकतामा ठूलो मात्रामा नेपाली नै पर्ने गरेका छन्।

यस्तै, नेपाली समुदायले स्थानीय स्तरमा फुटबल क्लब दर्ता गरेर प्रतिस्पर्धा गराउँदै आएका छन्। अस्ट्रेलियामा साना–ठूला गरेर अनेकौं फुटबल लिग तथा प्रतियोगिता हुने गरेका छन्। जसको स्वामित्व लिनेमा नेपाली पनि छन्। जहाँ विधिवत् रुपमा क्लब दर्ता गरेरै उनीहरुले फुटबल गतिविधि सञ्चालन गरिरहेका हुन्छन्। त्यसकै लागि विदेशी कोटामा नेपाली फुटबलरको आकर्षण पछिल्लो समय ह्वातै बढेको हो।

अस्ट्रेलियामा रहेका एक फुटबलर भन्छन्, ‘हामीलाई आउनका लागि यहाँको क्लबले पहिला त चाहनु पर्‍यो। त्यसपछि क्लबले विदेशी खेलाडीको कोटामा अप्लाइ गरेपछि भिसाको प्रकृया सुरु हुन्छ।’ उनले विदेशी कोटामा यति नै खेलाडी सहभागी हुनुपर्छ भन्ने मापदण्ड नरहेको बताए। यसको अर्थ अझै ठूलो संख्यामा नेपाली खेलाडी अस्ट्रेलिया प्रस्थान गर्ने पक्का छ।

अस्ट्रेलियाबाट केही समयअघि फर्किएका स्टार खेलाडी रेग्जिन सुब्बाले खेलाडीका अनेकन समस्या भएपछि अस्ट्रेलिया जानुको विकल्प नभएको बताए। उनले भने, ‘यहाँ फुटबलको मात्र होइन सबै क्षेत्रको समस्याले विदेशीनुपर्ने अवस्था छ। त्यसैले कुनै फुटबलर बाहिरिँदा मात्र ठूलो कुराका रुपमा लिनु हुँदैन।’ उनी अहिले लिग खेल्नका लागि अस्ट्रेलियाबाट नेपाल आएका हुन्। लिगपछि उनी पुन अस्ट्रेलिया नै फर्कनेछन्।

त्यसो त अस्ट्रेलिया सबैका लागि राम्रो गन्तव्य भएकाले खेलाडीले खेल्नका लागि अवसर पनि सिर्जना गर्न सक्ने सम्भावना भएको ठाउँ भएकाले गन्तव्य बनाउनेमा युवा खेलाडी पनि छन्। अस्ट्रेलियामा रहेका खेलाडी भन्छन्, ‘यहाँ स्थानीय स्तरमा राम्रो प्रदर्शन गर्दा ठूला लिगमा पर्ने सम्भावना स्वाभाविक बढी हुन्छ। तर यहाँ सामान्य लिग खेल्दा पनि आर्थिक रुपमा खेलाडीलाई सहज हुने गरी नै आम्दानी हुने गर्छ।’

एन्फाले खेलाडी पलायन रोक्नका लागि पछिल्लो समय लिग र नकआउट फुटबल प्रतियोगितामा तीब्रता दिने नीति अगाडि सारे पनि खेलाडीको यो पलायन दर रोकिने छैन। त्यसैले अबको केही वर्षमा नेपाली फुटबल कहाँ हुन्छ अनुमान बाहिरको कुरा हो।

एन्फा महासचिव किरण राई पलायनले एन्फालाई चुनौती थपेको स्वीकार्छन्। उनी भन्छन्, ‘हामीलाई खेलाडी पलायनले ठूलो चुनौती थपेको छ। तर हामीले रोक्नका लागि सेवा सुविधा र नियमित खेलको प्रवर्दनका लागि थप मिहिनेत गर्ने समय आएको छ।’

अस्ट्रेलिया नेपाली फुटबलरका लागि जसरी एउटा राम्रो ‘हब’ बन्दै छ। त्यसरी नै नेपाली फुटबल भने दिनानुदिन कमजोर बन्दै जानेमा दुईमत छैन। अस्ट्रेलियामा रहेका ती खेलाडी भन्छन्, ‘अहिले पनि धेरै साथीहरुको प्रकृया भइरहेको छ। यहाँ कति क्लब छन् भने यकिन त मलाई थाहा भएन् तर आफ्नो चिनजानको माध्यामबाटै हो नेपाली खेलाडी अस्ट्रेलियासम्म आइपुग्ने।’

माघ २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्