चालु वर्षको ६ महिनामा मधेसमा ११ प्रतिशत बजेट खर्च

जनकपुरधाम – मधेस प्रदेश सरकारले चालु वर्षको ६ महिनामा ११ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ। ०७९/८० का लागि मधेस सरकारले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट ल्याएकोमा आर्थिक वर्षको ६ महिनामा १०.९० प्रतिशत अर्थात् ५ अर्ब ११ करोड ६ लाख ८ हजार १ सय रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत मनोजकुमार झाले जानकारी दिए।

मधेस सरकारले ६ महिनाको अवधिमा पुँजीगततर्फ १०.२४ प्रतिशत र चालुतर्फ ११.६२ प्रतिशत बजेट खर्च भएको लेखा नियत्रक कार्यालयको तथ्यांक छ।

मधेस सरकारले पुँजीगततर्फ २५ अर्ब ९७ करोड २० लाख ८० हजार विनियोजन गरेकामा २ अर्ब ६५ करोड ९२ लाख ५१ हजार ६५७ र चालुतर्फ २० अर्ब ९० करोड ८८ लाख ६६ हजार विनियोजन गरिएकामा २ अर्ब ४५ करोड १३ लाख ५६ हजार ४ सय ४३ रुपैयाँ खर्च भएको छ।

मधेस सरकारले पहिलो ६ महिनामा ५ अर्ब ११ करोड रकम खर्च गरेकाले अबको बाँकी ६ महिनामा ४१ अर्ब ७७ करोड ३ लाख ३७ हजार ९ सय रुपैयाँ खर्च गर्नुपर्ने लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि १ अर्ब ४८ करोड ८८ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएकामा चालु आवको ६ महिनामा ६ करोड ६५ लाख ८८ हजार ३४० रुपैयाँ खर्च गर्न सकेको छ।

यस्तै, अर्थ मन्त्रालयका लागि २४ करोड ९० लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएकामा ३ करोड ८३ लाख ८१ हजार १२९ रुपैयाँ खर्च गरेको छ।

उद्योग, पर्यटन तथा वन मन्त्रालयका लागि ४ अर्ब ८५ करोड ६४ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएकामा ५० करोड ६ लाख १८ हजार ४ सय ४३ रुपैयाँ खर्च गरेको छ।

कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयका लागि ५ करोड ३३ लाख २८ हजार रुपैयाँ विनियोजन गरिएकामा चालु आवको ६ महिनामा १ करोड ३१ लाख १२ हजार ९६३ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांक छ।

यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि २ अर्ब ७४ करोड २५ लाख विनियोजन गरिएकामा १९ करोड ४२ लाख ७६ हजार २ सय ११ रुपैयाँ खर्च गरेको छ।

खानेपानी तथा ऊर्जा विकास मन्त्रालयका लागि १ अर्ब ६८ करोड ८६ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएकामा ६ महिनामा ३० करोड ६५ लाख ४२ हजार ६ सय २८ रुपैयाँ खर्च भएको छ।

गृह तथा सञ्चार मन्त्रालयका लागि ६४ करोड ३३ लाख २० हजार रुपैयाँ विनियोजन गरिएकामा चालु आवको ६ महिनामा ५ करोड ७५ लाख ९१ हजार १२ रुपैयाँ खर्च भएको छ।

यस्तै, वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयका लागि २ करोड ७८ लाख ३६ हजार रुपैयाँ विनियोजन गरिएकामा ३९ लाख ५३ हजार ५०३ रुपैयाँ खर्च भएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि १८ अर्ब २२ करोड ५० लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएकामा चालु आवको ६ महिनामा १ अर्ब ४३ करोड २ लाख ८० हजार ९५४ रुपैयाँ खर्च भएको छ।

यस्तै, महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका लागि ६१ करोड ९८ लाख ५७ हजार रुपैयाँ विनियोजन गरिएकामा ३ करोड २९ लाख ४६ हजार ७६३ रुपैयाँ खर्च गरेको छ।

सामाजिक विकास मन्त्रालयका लागि ८ अर्ब ९६ लाख ५८ हजार रुपैयाँ विनियोजन गरिएकामा चालु आवको ६ महिनामा २ अर्ब ४ करोड ५ हजार ६ सय ७० रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

माघ २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्