समयमै हुलाकी राजमार्ग निर्माण सम्पन्न नगरे कारबाही गरिने

जनकपुरधाम – समय सीमाभित्र हुलाकी राजमार्ग निर्माण कार्य सम्पन्न नगरे सर्लाहीमा निर्माण व्यवसायीलाई कारबाही गर्ने निर्णय गरिएको छ। आइतबार प्रमुख जिलला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता र जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर प्रसाद सिंहको प्रमुख आतिथ्यतामा बसेको बैठकले हुलाकी राजमार्ग निर्माण समयमा नसके निर्माण व्यवसायीलाई कानुनी कारबाही गर्ने निर्णय गरेको छ।

हुलाकी राजमार्ग निर्माण सम्बन्धमा बसेको बैठकले पर्सा गाउँपालिकाको शीतलपुरदेखि मलंगवा नगरपालिका–२ सम्म, गोडैता नगरपालिकाको रोहुवा देखि गोडैता नगरपालिकासम्म, गोडैता नगरपालिकाको रोहुवा देखि बागमती पुलसम्म (बडहर्वा पुल छतौना) सम्म २०७९ चैत मसान्तसम्म सम्पन्न गर्नुपर्ने, नाला तथा कल्भर्ट निर्माण मलंगवा र पर्सा सडक खण्डमा फागुन मसान्तसम्म, बाँकेदेखि संग्रामपुरसम्म अवरोध रहेको स्थानमा समन्वय गर्ने, फुलजोरदेखि त्रिभुवननगरसम्म अवरोध रहेको स्थानमा समन्वय गर्ने निर्णय गरिएको छ।


बैठकले हुलाकी राजमार्ग निर्माण क्रममा विवादित स्थानमा समस्या समाधान गर्न जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख, आयोजना प्रमुख, सम्बन्धित स्थानीय तहका प्रमुख÷अध्यक्ष, पत्रकार, नागरिक समाजसहितको टोली विवादित स्थलमै गई समस्या समाधान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

यस्तै, निर्माण सामाग्री उपलब्ध गराउने तथा विद्युत् पोल विद्युत् प्राधिकरणसँग समन्वय गरी सडक÷नालाबाट हटाउने व्यवस्था मिलाउने निर्णय भएको हो।

माघ २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्