संवैधानिक संकटको खतरा छः देवीप्रकाश भट्टचन

काठमाडौँ – एमाले सांसद देवीप्रकाश भट्टचनले अहिलेको निर्वाचन प्रणालीका कारण मुलुकमा संवैधानिक संकट आउने खतरा देखिएको बताएका छन्।

आइतवार बसेको प्रतिनिधिसभा बैठकमा शून्य समयमा सांसद भट्टचनले अहिलेको निर्वाचन प्रणालीले गर्दा संवैधानिक संकट आउन लागेको बताए।

उनले भने, ‘नेपालको संविधानअनुसार संघीय परिषदको मिश्रित निर्वाचन प्रणालीले देशमा संवैधानिक संकटको अवस्था आउँछ भन्ने मलाई लागेको छ। ०७४ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल एमालेलाई, ०७९ सालको निर्वाचनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई र गण्डकी प्रदेशमा नेपाली कांग्रेसलाई प्रत्यक्षबाट १८ जना निर्वाचित भए, समानुपातिकबाट ९ जना हुँदा २७ जना हुँदा टाइब्रेक जस्तो भयो। ३३ प्रतिशत पुर्‍याउनुपर्ने हाम्रो बाध्यताले संवैधानिक संकट छिटो ढिलो आउनेछ, यसमा ध्यानाकर्षण होस्।’

उनले हवाई दुर्घटना, पानीजहाज र नागरिकतासम्बन्धी विधेयकलाई छिटोभन्दा छिटो अगाडि बढाउन माग गरे।

सांसद भट्टचनले जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता एवं पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिनसमेत माग गरेका थिए।

माघ २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्