ओलीले खरको छानो हटाई टिनको छानो लगाउने अभियान आफ्नो निर्वाचन क्षेत्रमा मात्रै सीमित गरेः मेटमणि चौधरी

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले खरको छानो हटाई टिनको छानो लगाउने अभियान अधिकारको प्रयोग गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा मात्रै सीमित गरेको आरोप लगाएका छन्।
आइतवार प्रतिनिधि सभाको बैठकमा उनले तत्कालीन नेकपा एमालेका अध्यक्ष ओलीको सरकार हुँदा २० हजार खरको छानो विस्थापित गरे पनि ती सबै विस्थापित कार्यक्रम झापा जिल्लाको ओलीकै निर्वाचन क्षेत्रमा मात्रै रहेको बताए।
उनले जहिल्यै ठूला कुरा गरेर मात्रै देशको विकास नहुने बताए। उनले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सजाय दिन नसकेको भन्दै मान्छेलाई भुलाउने प्रयास नगर्न आग्रह गरे।
उनले भने, ‘उहाँले बडो ठूलो आवाजमा बोल्नुभएको छ, जनता आवास कार्यक्रममार्फत जनतालाई खरको छानामुक्त गरेर टिनको छानो लगाउने कुरा गर्नुभएको थियो, म स्मरण गराउन चाहन्छु, त्यसबेला करिब २० हजार घरमा खरको छानो विस्थापित गरेका थियौँ। तर त्यो बेला २० हजार घर सबै झापा जिल्ला र उहाँकै निर्वाचन क्षेत्रमा मात्रै लागेको थियो। जग्गा लालपुर्जाको कुरा गरेका थियौँ, तीन दशकको अवधिमा कति जनालाई प्रदान गरका छौँ, एक जनालाई छ भने भन्नुपर्यो। १३ वर्षे बालिकालाई बलात्कार गर्ने मान्छेलाई कारबाही गर्न सकेनौँ, ठूला कुरा गरेर हुन्छ। आइन्दा यस्ता ठूला बेतुक, बेकारका कुरा, मान्छेलाई भुलाउने कुरा नगर्दा राम्रो हुन्छ।’ सांसद चौधरीले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै जान सुझाव दिए।