रवि लामिछानेको अभिव्यक्ति सञ्चार क्षेत्रमाथिको प्रहारः महासंघ

काठमाडौँ – नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिको निन्दा गरेको छ। लामिछानेको  नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको महासंघको ठहर छ।

‘संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चार क्षेत्रमाथिको प्रहार हो,’ महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ।’

लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्ने महासंघ प्रष्ट पारेको छ।

सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको महासंघको ठहर छ।

आइतबार पत्रकार सम्मेलनका क्रममा सभापति लामिछाने मिडियामाथि खनिएका थिए। सञ्चारमाध्यमले निरन्तर आफूमाथि प्रहार गरेको भन्दै केही सञ्चारमाध्यम र सम्पादकको नामै लिएर गलत समाचार लेखे आफू सहेर नबस्ने चेतावनी दिएका थिए।

माघ २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्