नेपालगञ्ज – खजुरा गाउँपालिका– १, सैनिक चलिरहेको स्व। श्याम थापा स्मृति फुटबल प्रतियोगितामा बागमती स्पोर्टस क्लव र खजुरा युनाइटेड विजयी भएका छन्।

जय किसान स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगिताको आइतबारको पहिलो खेलमा बागमती स्पोर्टस क्लवले एकतर्फी जीत निकालेको छ। बागमतीले जयकिसान स्पोर्टस क्लव (बी) लाई ५–१ गोलले पराजित गरेको छ। खेलको १५ मिनेटमा अल्बिनसिंह ठकुरीको गोलले जयकिसानले अग्रता लिएको थियो। गोल खाएको तीन मिनेटमै बागमतीले सुदी गुरुङको गोलबाट खेललाई बराबरीमा ल्याएको थियो।

२६ मिनेटमा गुरुङकै गोलले बागमतीले अग्रता लियो। त्यसपछि बागमती अझ आक्रमक भएको थियो। ३५ं२ मिनेटमा जनप्रकाश बम, ५६ मिनेटमा सुदिनसिंह विक्रम र ६० मिनेटमा विशाल श्रेष्ठले गोल गरेका थिए। दोस्रो खेलमा खजुरा युनाइटेडले सन्तकुटी स्पोर्टस क्लवलाई १–० गोलले पराजित गरेको छ। ७०ं२ मिनेटमा प्रशान्त कुँवरले गरेको गोल नै निर्णायक भएको थियो।

माघ २९ गते हुनेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ। सोमबार मोडेल क्लवविरुद्ध एफसी–११ बर्दिया र न्यू डाँफे स्पोर्टस क्लवविरुद्ध रारा जनचेतना युवा क्लवका बीचमा हुनेछ।

माघ २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्