मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ

मोरङ – प्रदेश १ प्रहरी कार्यालयले प्रदेशका विभिन्न जिल्लामा ५६ वटा मोटरसाइकल चोरी भएको र चोरीमा संलग्न ९ जना पक्राउ परेको जनाएको छ।
विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवालीले प्रदेशका विभिन्न जिल्लामा ५६ वटा मोटरसाइकल चोरी भएको र १४ वटा मोटरसाइकल फेला पारेको जनाएका छन्। यससँगै प्रहरी प्रमुख ज्ञवालीले प्रदेशमा बढ्दो मोटरसाइकल चोरी नियन्त्रण गर्न विशेष अभियान सुरु गरिएको जानकारी दिएका छन्।
मोटरसाइकल चोरी नियन्त्रण विशेष अप्रेसन अभियान सुरु गरेका प्रदेश १ प्रहरी प्रमुख ज्ञवालीले ठाउँ ठाउँमा कडा चेकजाँच गर्दै चोरीका मोटरसाइकल र संलग्नलाई नियन्त्रणमा लिने क्रम भइरहेको बताए। उनका अनुसार प्रहरीले हाल नेपाल भारत सीमा क्षेत्र र पहाडी भेगमा सवारी चेकलाई कडा बनाएको छ।
प्रहरीका अनुसार चोरी गरिएका मोटरसाइकल पहाडी भेग वा भारततर्फ लैजाने गरेको फेला परेको छ। प्रहरीका अनुसार २ सातामा प्रदेशका विभिन्न जिल्लाबाट ५६ वटा मोटरसाइकल चोरी भएको घटना दर्ता भएका छन्।
प्रदेश १ प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी मोरङबाट ३१ वटा मोटरसाइकल चोरी भएका छन्। त्यसैगरी, सुनसरीबाट १३, झापाबाट ५, इलामबाट ३, उदयपुरबाट २ तथा धनकुटा र ओखलढुंगाबाट समान १ वटा मोटरसाइकल चोरी भएको कार्यालयले जनाएको छ।
यस क्रममा चोरी भएका १४ वटा मोटरसाइकल प्रहरीले फेला पारेको छ। प्रहरी कार्यालयका अनुसार सबैभन्दा धेरै इलाममा ७ वटा चोरीका मोटरसाइकल फेला परेको छ। त्यसैगरी, सुनसरीबाट ३, मोरङबाट २ तथा उदयपुर र झापाबाट समान १ वटा चोरीका मोटरसाइकल प्रहरीले फेला पारेको छ। २ साताको अवधिमा मोटरसाइकल चोरीमा संलग्न ९ जना पुरुष पक्राउ परेका छन्।
इलाम र सुनसरीबाट समान ३, मोरङबाट २ तथा उदयपुरबाट १ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।