पाेखरा महानगर: सडकमा पार्किङ निषेधबाट ब्याक, सशुल्क पार्किङको सुरुवात

पोखरा- पोखरा महानगरपालिकाले गत सोमबार एक सूचना प्रकाशित गर्दै मुख्य सहरी क्षेत्र पृथ्वीचोक, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार र पृथ्वीचोकको सडकमा सवारी पार्किङ निषेध हुने जानकारी गरायो। महानगरको निर्णय आइतबारदेखि कार्यान्वयन हुने प्रकाशित सूचनामा उल्ल्लेख थियो। तर महानगरको यो निर्णय हप्ता दिन पनि टिक्न सकेन।

सडकमा पार्किङ निषेध गरिएका क्षेत्रका व्यावसायी, यातायात व्यवसायी र सवारी चालकको चर्को विरोध खेप्न नसकेपछि कार्यन्वयनको अघिल्लो दिन आइतबार तत्कालका लागि सडकमा पार्किङ निषेध गर्ने निर्णय कार्यन्वयन नहुने भन्दै महानगरले अर्को सूचना जारी गरेको छ।

दुर्घटना न्यूनीकरण, सहरी सौन्दर्यकरण र ट्राफिक व्यवस्थापनका लागि सडकमा पार्किङ निषेध गरेको बताउने महानगरपालिकाले निर्णय कार्यन्वयनबाट पछाडि हटे पनि सशुल्क पार्किङको सुरुवात भने गरेको छ।

न्युरोडस्थित पूर्णिमा हल पछाडि रहेको खाली जग्गाबाट महानगरका मेयर धनराज आचार्यले सशुल्क पार्किङको सुरुवात गरेका हुन्।

‘अब सडकमा बिस्तारै सवारी साधन राख्ने दिन सकिए भनेर बुझ्दा हुन्छ’, मेयर आचार्यले भने।

पार्किङ पनि व्यवसाय भएको उनको भनाइ छ। उनले भने, ‘संसारभरि पार्किङको व्यवसाय हुन्छ। सरकारले बनाएको अवस्थामा शुल्क तिर्नुपर्ने हुन्छ। तर हामीले सडकको सबै पार्किङ शुल्क हटाएका छौँ।’

अब सडकमा पार्किङ शुल्क उठाउन टेन्डर नगर्ने उनले दाबीसमेत गरे।

रिङरोड एरियामा असाध्यै ट्राफिक बढेकाले क्रमश: खाली गर्न लागेको मेयर आचार्य बताउँछन्। सभागृह र नयाँबजारको प्रदर्शनी केन्द्रमा महानगरले अर्को व्यवस्था नभएसम्म निशुल्क पार्किङ गर्न दिने उनको भनाइ छ।

सडकमा पार्किङ निषेध गर्ने तयारी गरेर महानगरको स्वामित्व र निजी स्वामित्वको खाली जग्गामा सशुल्क पार्किङको विकल्प दिएको थियो। घरका अन्डरग्राउण्ड सवारी पार्किङका लागि महानगरले दिएको अर्को विकल्प हो।

सडकमा पार्किङ निषेध गर्ने निर्णय तयारी पुगेन कि भन्ने भएर कार्यन्वयन नगराएको मेयर आचार्यले बताए। ‘हामीले खाली गराएका ठाउँहरू खुला भएक‍ा छन्। यहाँबाट हामीले विम्बका हिसाबले सुरुवात गरेका हाैँ’, उनले भने।

पोखराका उद्योगी व्यवसायीहरूको छाता संगठन पोखरा उद्योग वाणिज्य संघले महानगरको सडकमा पार्किङ निषेध गर्ने निर्णयको विरोध गर्दै आइरहेको थियो।

आइतबार संघले महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीलाई ज्ञापनपत्र बुझाएको थियो। विकल्पसहित पार्किङ निषेध गर्नुपर्ने पोखरा उद्योग वाणिज्य संघको अडान छ।

सोमबार सशुल्क पार्किङको सुरुवातसँगै सडकमा पार्किङ निषेधको शुभारम्भ भएको पोखरा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले बताउँछन्।

‘सधैँ पोखरा कुरूप हुँदैन, अब सुन्दर पोखरा पनि हुनपर्छ भनेर आज सुरुवात गरेका हौँ’, उनले भने। चुनावका बेला पोखरालाई सुन्दर बनाउन गरेको प्रतिबद्धता पुरा गर्ने उनले बताए। पार्किङ हटाउन नभइ व्यवस्थित गराउन खोजेको उनको दाबी छ।

महानगरले २७ स्थानमा खाली जग्गा सशुल्क पार्किङका लागि व्यवस्थापन गरेको जनाएकाे छ। जहाँ ५०० हलुका सवारी र ८०० मोटरसाइकल स्कुटर पार्किङ गर्न मिल्ने क्षमता छ। पार्किङ गरेवापत दुईपांग्रे सवारीधनीले प्रति घण्टा १० रुपैयाँ तिर्नुपर्ने महानगरले शुल्क निर्धारण गरिदिएको छ। हलुका सवारीको ५० रुपैयाँ र मझौला सवारीको ७० रुपैयाँ शुल्क तोकिएको छ।

महानगरको तथ्यांकअनुसार अहिले सडकमा २५० गाडी र ३५० मोटरसाइकल र स्कुटर पार्किङ हुँदै आइरहेको छ। महानगरले यसअगाडि भने सडकमै पार्किङ गरेवापत् शुल्क उठाउन ठेक्का नै लगाएको थियो। सडकमा पार्किङ शुल्क उठाउँदै आएको फेवा सावित्री जेभीसँगको ठेक्का गत पुस ८ गते महानगरले तोड्यो।

२०७७ सालमा फेवा सावित्री जेभीलाई २ वर्ष सडकको पार्किङको शुल्क उठाउने ठेक्का लगाइएको थियो। ०७९ मंसिर २७ गतेसम्मका लागि सम्झौता भएकोमा निवर्तमान मेयर मानबहादुर जिसीले जाँदाजाँदै सुटुक्क पुनः ४ महिनाका लागि समय थपिदिएका थिए। तर सावित्री जेभीले तिर्नुपर्ने वक्यौता रकम नतिरेपछि पुसमा महानगरले सम्झौता रद्द गरेको हो।

महानगरले यसअगाडि प्रयोजनविपरीत प्रयोग भइरहेका अन्डरग्राउण्ड खाली गराउनलाई भदौ तेस्रो साता ३५ दिने सूचना निकालेकाे थियो। तर पाँच महिना बित्दा समेत पूर्ण रूपमा कार्यन्वयन भएको छैन।

 

माघ २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्