‘निफ’का ९५ वटा चलचित्रहरु पहिलोपटक क्युएफएक्सका हलमा

काठमाडौँ– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ (निफ)को छैटौँ संस्करणमा प्रदर्शन हुने ९५ वटा चलचित्र क्युएफएक्समा हेर्न पाइने छ।

चैत २ देखि ६ सम्म चल्ने यस महोत्सवमा ९५ वटा चलचित्र प्रदर्शन हुने आयोजकले बताएका छन्। फिचर, लघु चलचित्र, डकुमेन्ट्री, एनिमेसनलगायत विभिन्न सात विधाका १४ चलचित्रलाई पुरस्कृत गरिने छ।

महोत्सव अवधिभर चलचित्र प्रदर्शनका लागि क्युएफएक्ससँग सम्झौता गरिएको छ। सम्झौताअनुसार काठमाडौँको छाया सेन्टर, सिभिल मल, ललितपुरको लबिम मल र भक्तपुरको क्युएफएक्स हलमा चलचित्र प्रदर्शन हुने क्युएफएक्सका जनरल म्यानेजर प्रशंसा पाण्डेले जानकारी दिइन्।

महोत्सवमा चलचित्रकर्मी तथा कलाकारहरूको सहभागितामा विविध कार्यशाला, अन्तर्क्रिया र छलफल कार्यक्रम सञ्चालन हुनेछ। नेपालमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमध्ये निफ एक निरन्तर रुपमा चलिरहेको महोत्सव भएकोले पनि क्युएफएक्स निफसँग जोडिएको उनले बताइन्।

उनी भन्छिन्, ‘निफ एक अन्तर्राष्ट्रियस्तरको फिल्म फेस्टिबल भए पनि यसभन्दा अघि सिनेमा हल वा कुनै थिएटरमा नभइ अन्य स्थानमा सञ्चालन हुने गरेको थियो। अन्तर्राष्ट्रिय प्रयोगलाई हेर्ने हो भने त्यहाँ पनि फिल्म थिएटरहरुमा नै यस्ता खालका महोत्सवहरुको आयोजना गरिन्छ। त्यसैले हामीले नेपालमा एउटा नयाँ प्रयोग गर्ने उद्देश्यले पनि निफमा प्रदर्शन हुने चलचित्र हलमा प्रदर्शन गर्न तयार भएका हौँ।’

कोरोनाको समयमा पनि निफले महोत्सव जारी राखेकै कारण सम्झौता गर्न तयार भएको उनी सुनाउँछिन्। ३५ देशबाट विभिन्न चलचित्रहरु निफमा सहभागी छन्। ती चलचित्रहरुलाई एउटा गुणस्तर दिनका लागि पनि क्युएफएक्ससँगको सहकार्य महत्वपूर्ण भएको उनले उल्लेख गरिन्।

विदेशी चलचित्रसँगै नेपाली चलचित्रहरु पनि राम्रो स्टोरीमा बनेको हुन्छ भन्नको लागि पनि महोत्सव महत्वपूर्ण रहेको उनको भनाइ छ। निफ र क्युएफएक्स दुवैको उद्देश्य नेपाली सिनेमा सुधार रहेकोले जोडिएर सहकार्य गर्न तयार रहेको उनले बताइन्।

यो वर्षको निफ गत वर्षको भन्दा अझ खास रहेको बताउँदै अझै धेरै नयाँ कथामा आधारित फिल्महरु बनेको उनको भनाइ छ। निफमा सहभागी फिल्महरु क्युएफएक्समार्फत प्रदर्शनका क्रममा दर्शकलाई थप सुविधा दिनेसमेत तयारी भइरहेको उनले बताएकी छन्।

माघ २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्