कृषि सडकको नाममा अनियमितता गरेको भन्दै सहिदनगरका तत्कालीन मेयर र उपमेयरसहित १२ जनाविरुद्ध मुद्दा दायर

जनकपुरधाम– सहिदनगर नगरपालिकाका तत्कालीन मेयर, उपमेयरसहित १२ जनाले कृषि सडकको नाममा अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।

सोमबार अख्तियारले सजाय मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बिशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।

२०७४/७५ मा तत्कालिन नगरपालिकाबाट रकम विनियोजित गरेर नयाँ कृषि सडक निर्माण कार्यमा रकम निकासा भएकोमा उक्त रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन अख्तियारमा परेपछि अनुसन्धान गरिएको थियो।

शहिदनगर ८ स्थित विसरभोरा नहरदेखि गोठ कोयलपुर सीमासम्म कृषि सडक निर्माण गर्दा फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको र लागत इस्टिमेट र कार्यसम्झौता अनुसार काम गर्ने भनिए पनि लागत बढाई, बढाउन लगाई बढी भुक्तानी दिने र लिने काम गरी २ लाख १२ हजार ८१६।२३ रुपैयाँ बराबरको सरकारी रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ।

अख्तियारले तत्कालीन मेयर उदय कुमार बरबरिया यादव, उपमेयर शिलादेवी कापरी, तत्कालीन लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव, सुशासन समितिका संयोजक कन्हैया मुखिया, प्रमुख प्रशासकीय अधिकृत राम किशोर महतो, इन्जिनियर संजय यादव, वडा ८ का वडाध्यक्ष तनुकलाल कुसियत, योजना शाखा प्रमुख विन्देश्वर यादव, तत्कालीन आर्थिक प्रशासन प्रमुख नन्द कुमार झा तथा उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमारी र सचिव मुकेश लखनदे यादव विरुद्ध आरोपपत्र दायर गरेको छ ।

माघ २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्