खगराजको उद्घाटन मोहः एकै दिन ४ योजनाको उद्घाटन

पोखरा – पुस २५ गते मुुख्यमन्त्री नियुुक्त भएपछि गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई बधाई थाप्न र उद्घाटन कार्यक्रममा सारिक हुन भ्याइनभ्याइ छ। मेला महोत्सवदेखि सांगीतिक कार्यक्रममा उनी प्रमुख अतिथि भएर पुगेकै हुुन्छन्।

सोमबार मुुख्यमन्त्री अधिकारीले गृहपालिकाको ४ योजनाको एकैदिन उद्घाटन गरे। उनले कास्कीको रुपा गाउँपालिकामा निर्माण भएका सडक, पुुल र विद्यालय भवनको उद्घाटन गरेका हुन्।

उनले रुपा रिङरोडको पहिलो खण्डको उद्घाटन गरेका छन्। यो सडकमा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयले ४१ करोड रुपैयाँ लगानी गरेको छ।

फैचोकदेखि पोल्याङसम्म जोड्ने सडकसँगै अधिकारीले सडक विभागले निर्माण गरेको कास्की र लमजुङ जोड्ने मोटरेबल पुलमा पनि रिबन काट्न पुगे। कास्कीको रुपा गाउँपालिका र लमजुङको मध्यनेपाल नगरपालिका जोड्ने गरी बनेको १६५ मिटर लामो मोटरेबल पुल १२ करोड १३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।

रुपा गाउँपालिका– ५ र पोखरा महानगरपालिका–३२ जोड्ने गरी २ करोड ५७ लाख रुपैयाँमा निर्माण भएको अर्को मोटरेबल पुलको समेत मुख्यमन्त्रीले सोमबार नै उद्घाटन गरेका छन्। यस्तै, २२ लाख रुपैयाँमा बनेको जनता माविको ८ कोठे भवनको पनि मुख्यमन्त्रीले उद्घाटन गरे।

मुख्यमन्त्री अधिकारीले भएका विकास निर्माणलाई संरक्षण गर्नुुपर्ने बताए। ‘विकासका योजना पाएरमात्रै हुँदैन। यसको सही संरक्षण गरेर उत्पादनमूलक काममा जोड्न आवश्यक छ,’ उनले भने। गाउँपालिका अध्यक्ष नवराज ओझाले गाउँमा भौतिक विकास हुँदा पालिकाबासीलाई सहज हुने बताए।

माघ २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्