
पछिल्लो समय प्रेम जोडीहरूका लागि निकै लोकप्रिय बन्दै आएकाे छ- ‘प्रणय दिवस’। प्रेम गर्ने जोडीहरूले उत्सवको रूपमा मनाउने यस दिवसका आफ्नै विशेषता र मान्यता छन्।
प्रणय दिवस हरेक अङ्ग्रेजी वर्षको फेब्रुअरी १४ मा मनाइन्छ। प्रेमी/प्रेमिकाले आफ्नो प्रेमको बन्धनलाई झनै खास बनाउने दिनलाई प्रणय दिवस, प्रेम दिवस र भ्यालेन्टाइन डे पनि भनेकाे पाइन्छ।
‘भ्यालेन्टाइन डे’ फेब्रुअरी १४ मा परेपनि यसलाई सप्ताहव्यापी रूपमा मनाइन्छ। फेब्रुअरी ७ बाट सुरु हुने यस सप्ताहमा क्रमश: रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, किस डे, हग डे र अन्तमा फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन डे’ मनाइन्छ।
यी दिनमा प्रेमी/प्रेमिकाले सुरुमा प्रेमको प्रतीक मानिने गुलाफको फूल दिएर आफ्नो पार्टनरलाई इम्प्रेस (आकर्षित) गर्दै उसलाई विभिन्न उपहार दिँदै तथा प्रेमकाे आभाष दिलाउँदै अन्तमा: उत्सवकाे रूपमा भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाएको पाइन्छ।
नयाँ तथा पुराना जोडीहरूमा निकै लाेकप्रिय रहेको यस दिवसको अवसरमा उनीहरू मात्र नभएर पुष्प तथा गिफ्ट व्यवसायीहरू पनि लाभान्वित भएका हुन्छन्। यस अवसरमा लाखाैँको फूल विदेशबाट आयात गरेको पाइन्छ।
यस सप्ताहका समर्थक मात्र छैनन्। यसको विराेध गर्ने या यसमा विमति जनाउनेहरू पनि प्रसस्त मात्रामा पाइन्छन्। कतिले त यसले समाजमा विकृति ल्याएकाे भन्दै सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्ययमबाट यसकाे खुलेर विराेध गरेको पनि पाइन्छ।
खासमा के हो त प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे?
खासमा भ्यालेन्टाइन डे कुनै चाडपर्व होइन। याे कुनै धर्म या जातका मानिसले मनाउनुपर्ने भन्ने धार्मिक तथा सामाजिक मान्यता पनि छैन। याे दिवस प्रेममा रहेका हरेक जाेडीले मनाउन सक्छन्, मनाउन पाउँछन्।
प्रेम निकै सुन्दर र पवित्र चिज हाे। कहिलेकाहीँ हामीले कसैलाई एकदमै धेरै प्रेम गरेर पनि उसलाई आभाष गराउन सकेका हुँदैनाैँ। सम्बन्ध टिकाइराख्नका लागि हामीले हाम्राे पार्टनरलाई ‘कति प्रेम गर्छाैँ’ भन्ने कुरा आभाष गराउन निकै जरुरी हुन्छ। प्रणय सप्ताहलाई यही कुरा आभाष गराउने समयकाे रूपमा लिन सकिन्छ।
कसरी भयो यसको सुरुवात?
प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विश्व थुप्रै देशहरूमा भ्यालेन्टाइन्स् डे अर्थात् प्रणय दिवसको रूपमा मनाइने यस दिनकाे इतिहास भने दु:खद् छ।
तेस्रो शताब्दीमा रोममा एक शासक थिए- क्लोडियस द्वितीय। उनको मान्यता थियो- जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ। त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए- आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउने छैन।’
रोमनका पादरी सेन्ट भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन। उनले उक्त उद्घाेषको विरोध गरे। सेन्ट भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए। यही क्रममा केही अधिकारी र सैनिकले विवाह गरे।
जब सेन्ट भ्यालेनटाइनले आफ्नो मान्यता विपरीत प्रेम र विवाहका लागि अरूलाई प्रेरित गरेको क्लोडियसले थाहा पाए तब उनले भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश दिए। यसपश्चात् भ्यालेनटाइनलाई ‘कालकोठरी’मा बन्दी बनाइयो।
आखिरमा सेन्ट भ्यालेनटाइनलाई फाँसी दिने सजाय सुनाइयाे। फाँसीको आदेश सुनेर सेन्टले जेलरकी दृष्टिविहीन छोरीको नाममा एकप्रेम पत्र लेखे। उनले त्यसमा लेखेका थिए- ‘फ्रेम योर भ्यालेनटाइन।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए। मृत्युअघि उनले जेलरलाई भने- म मरेपछि मेरो आँखा तपाईँकी आफ्नी दृष्टिविहीन छोरीलाई दिनू।’
राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए। यही दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरूले ‘भ्यालेनटाइन डे’ मनाउन सुरु गरेका हुन्।
किन हुन्छ यसको आलोचना?
विश्वभरिका अधिकांश देशहरूमा प्रेम उत्सवको रूपमा मनाउँदै आइएकाे ‘भ्यालेनटाइन डे’ को नेपालमा भने सेलिब्रेसनसँगै आलाेचना पनि भएकाे पाइन्छ।
आलोचकहरूले ‘भ्यालेनटाइन डे’ आयातित संस्कृति भएकाे तर्क गर्छन्। पश्चिमबाट सुरुवात भएकाे यस ‘भ्यालेनटाइन डे’ पश्चिमाहरूकाे संकृति भएको र यसलाई हामीले अपनाउन नहुने यसले सामाजिक तथा सांस्कृतिक विकृति ल्याउने उनीहरूकाे तर्क छ।
यस दिन कृष्ण अष्टमी पनि पर्दछ। हिन्दुहरूले मनाउने यस पर्वकाे दिन प्रणय दिवस कृष्ण अष्टमीको महत्त्व घटाउने काम भएको पनि कतिपयकाे तर्क रहन्छ।
के भन्छन् प्रेमी/प्रेमिकाहरू?
प्रेमीहरूले भने यस सप्ताहलाई निकै राेचक र उत्साहप्रद रूपमा मनाउँछन्। आलोचकका आलोचनाले उनीहरूलाई खासै प्रभाव पारेको छैन। बरु झनै रोचक र राेमान्टिक तरिकाले यसलाई मनाएको पाइन्छ।
प्रेमीहरू भन्छन्- प्रेमको कुनै भूगाेल हुँदैन। यो मनाउनाले कुनै संकृति या परम्परामा असर पर्ने पनि हाेइन।
यसलाई आलोचना गरेर विकृतिको रूपमा परिभाषित गर्नुभन्दा पनि सहजै अपनाएर संस्कृतिको रूपमा विकर्सित गर्नुपर्ने उनीहरूको तर्क छ।
‘प्रेम निकै सुन्दर र पवित्र चिज हो’, प्रणय दिवस मनाउनुपर्ने तर्क राख्दै एक कवि भन्छन्, ‘कहिलेकाहीँ हामीले कसैलाई एकदमै धेरै प्रेम गरेर पनि उसलाई आभाष गराउन सकेका हुँदैनाैँ’ , उनी थप्छन्, ‘सम्बन्ध टिकाइराख्नका लागि हामीले हाम्रो पार्टनरलाई कति प्रेम गर्छाैँ भन्ने कुरा आभाष गराउन निकै जरुरी हुन्छ। यस प्रणय सप्ताहलाई मैले त्यही आभाष गराउने समयको रूपमा लिएकाे छु।’
कुन दिन कसरी मनाइन्छ?
फेब्रुअरी ७ अर्थात् रोज डे: गुलाफलाई प्रेमको प्रतिक मानिन्छ। राेज डे अर्थात् गुलाफकाे फूल दिनका दिन प्रेम जोडीले एक अर्कालाई उपहार स्वरूप गुलाबको फूल दिने चलन छ। आफ्नो प्रेम भावना व्यक्त गर्ने माध्यम हो- गुलाब। खासगरी यसदिन रातो गाढा रङ्गको गुलाब उपहारमा दिइन्छ।
फेब्रुअरी ८ अर्थात् प्रपोज डे: प्रपोज डे भन्नाले प्रेमको प्रस्ताव राख्ने दिन हाे। आफूले मन पराएको व्यक्तिसँग प्रेमका लागि खुलेर प्रस्ताव राख्ने दिनको रूपमा यस दिनलाई मनाइँदै आएको छ।
फेब्रुअरी ९ अर्थात् चकलेट डे: चकलेट डेका दिन आफ्ना प्रेमी/प्रेमिकालाई चकलेट दिएर सम्बन्धमा मिठास ल्याएकाे पाइन्छ।
फेब्रुअरी १० अर्थात् टेडी डे: यस दिनमा प्रेमी/प्रेमिकाले एक अर्कालाई टेडी उपहार दिएर खास महसुस गराएकाे पाइन्छ। जसले प्रणय सम्बन्ध छन खास र गाढा बनाउन मद्दत गर्ने मान्यता छ।
फेब्रुअरी ११ अर्थात् प्रमिस डे: प्रमिस डे भनेको वाचा गर्ने दिन हो। यस दिनमा एकअर्काको ‘प्रेम पक्का हो’ सधैँ साथ रहन्छ भनेर एकअर्कालाई वाचा गर्ने गरेको पाइन्छ।
फेब्रुअरी १२ अर्थात् किस डे: प्रेम व्यक्त गरेको पाँचाैँ दिनलाई किस डे अर्थात् चुम्बन गर्ने दिनको रूपमा परिभाषित गरिएकाे छ। यस दिनमा प्रेम जाेडीले एकअर्कालाई चुम्बन गरी प्रेमाभाष गराएकाे पाइन्छ।
फेब्रुअरी १३ अर्थात् हग डे: खासमा हग अर्थात् अंकमालको यस सप्ताहमा मात्र नभएर अन्य समयमा पनि खास महत्त्व हुन्छ। अंकमाल गर्नाले व्यक्ति चिन्ता मुक्त हुने तथा एक अर्काको पोजेटिभ इनर्जी एक अर्कामा जाने मान्यता छ। यसकारण पनि प्रेम सप्ताहको अन्ततिर यस दिनलाई राखेको पाइन्छ। यस दिन आफ्ना प्रेमिका वा प्रेमीलाई अंकमाल गरेर प्रेमलाई थप कसिलो बनाउने गर्दछन्।
फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे: भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेम सप्ताहको अन्तिम तथा निकै विशेष दिन हो। यो दिन उत्कर्षमा पुग्ने दिन पनि हो। प्रेम गर्नेहरूका लागि सबैभन्दा ठूलो उत्सवको दिन पनि हो याे दिन। यस दिन कुनै पनि गिफ्ट दिएर प्रेम सम्बन्धलाई अझ उचाइमा पुर्याएको पाइन्छ।