सिटीले १०० बढी नियम उल्लंघन गरेको आरोप, प्रमाणित भए रेलिगेसनमा पर्ने जोखिम

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमाथि १ सयभन्दा बढी आर्थिक नियमहरू तोडेकाे आरोप लागेको छ। यी नियमहरू तोडेको प्रमाणित भएमा क्लबमाथि ठूलो मात्रामा जरिवाना हुने सम्भावना छ। यसैगरी, अंक कटौतीका कारण रेलिगेसनमा पर्ने सम्भावना समेत रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

क्लबले २००९ देखि २०१८ को बीचमा नियम उल्लघंन गरेको अभियोगसहित एक स्वतन्त्र आयोगलाई रिपोर्टहरू पठाइएको छ। सिटीले सन् २०१८ को डिसेम्बरमा अनुसन्धान सुरु भएदेखि सहयोग नगरेको पनि आरोप लगाइएको छ। सिटीले भने आरोपलाई खण्डन गर्दै रिपोर्टहरू ‘आश्चर्यजनक’ रहेको बताएको छ।

आयोगले कारबाहीस्वरूप प्रिमियर लिगमा अंक कटौतीसँगै, जरिवाना तथा प्रिमियर लिगबाटै प्रतिबन्धसम्मको कारबाही गर्न सक्ने सम्भावना रहेको छ। सन् २००८ मा अबुधाबी युनाइटेड समूहले क्लबको स्वामित्व लिएपछि गत सिजन सिटीले छैटौँ प्रिमियर लिग उपाधि जितेको थियो।

सिटीले सिजन २०१३-१४ देखि २०१७-१८ सम्ममा फाइनान्सियल फेयर प्ले (एफएफपी) लगायत युरोपियन फुटबल महासंघको नियमहरू, २०१५-१६ देखि २०१७-१८ सम्म नाफासम्बन्धी लिगको नियमहरू उल्लघंन गरेको प्रिमियर लिगले बताएको छ।

यसअघि २०२० मा युरोपेली फुटबलको प्रशासकीय निकाय युइएफएले सन् २०१२ देखि २०१६ को बीचमा सिटीले एफएफपी नियमहरूको ‘गम्भीर उल्लंघन’ गरेको ठहर गर्दै सिटीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

तर सिटीमाथि लगाइएको युरोपेली प्रतियोगिताहरूबाट दुई वर्षको प्रतिबन्ध ‘कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्ट्सले’ उल्टाएको थियो।

सिटीले स्वतन्त्र आयोगलाई पूर्ण सहयोग हुने बताएको छ। उसले एक विज्ञप्ति निकाल्दै स्वतन्त्र रूपमा हुने छानविनहरूमा आफ्नो सहयोग हुने बताएको छ।

माघ २४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्